जीतपुर । बाराको हलखोरिया साझेदारी वन उपभोक्ता समूह, डुमरबानाको साधारण सभा शनिवार सम्पन्न गरेको छ । गत वर्ष विशेष कारणले सभा गर्न नसकेकाले यसपालि आर्थिक वर्ष २०८०/८१ र ८१/८२ दुवै वर्षको आय–व्यय विवरण सार्वजनिक गरिएको हो ।
डुमरवाना क्याम्पस परिसरमा सम्पन्न उक्त साधारण सभाको जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र कुमार साहले उद्घाटन गरे । समूहका अध्यक्ष विकल्प भट्टराईको अध्यक्षता सम्पन्न साधारणसभाको डिभिजन वन कार्यालय बाराका प्रमुख राजीव कुमार झा र मधेश प्रदेश वन निर्देशनालयका निर्देशक जग्गनाथ प्रसाद जयसवाल विशेष अतिथिका रूपमा उपस्थित थिए।
अध्यक्ष भट्टराईले प्रस्तुत गरेका प्रतिवेदनअनुसार हल्खोरिया साझेदारी वन २०३८.४६ हेक्टर क्षेत्रफलमा फैलिएको छ। पछिल्ला दुई वर्षमा समूहले १४ हजार ४२६.४६ क्युबिक फिट काठ उत्पादन गरी ४५० उपभोक्तालाई वितरण गरेको र ५४ हेक्टर क्षेत्रमा झाडी सफा गर्दै सालको काठ पुनरुत्पादन कार्य सम्पन्न गरेको कार्यक्रममा जनाएका थिए । आर्थिक वर्ष २०८१/८२ मा २० हेक्टर क्षेत्रमा वृक्षारोपण गरिएको उनले बताए ।
भट्टराईले अतिक्रमित वन क्षेत्र खाली गराई सीमाना विस्तार र संरक्षणमा समितिले उल्लेखनीय प्रगति गरेको बताउदै वनको दीगो व्यवस्थापनमा उपभोक्ताको सक्रिय सहभागिता नै दीर्घकालीन समाधानको बाटो भएको बताए ।
साझेदारी वनहरूको व्यवस्थापनलाई अझ सशक्त र पारदर्शी बनाउदै वनको संरक्षण र दीगो व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बक्ताहरुले बताएका थिए । डिभिजन वन प्रमुख राजीव झा र वन निर्देशक जयसवालले मधेश प्रदेशमा वन क्षेत्र केवल चार प्रतिशतमा सीमित हुनु चिन्ताको विषय भएको बताएका थिए । उनीहरूका अनुसार, जनसंख्या वृद्धिसँगै अक्सिजन, काठ दाउरा र स्वच्छ वातावरणका लागि वन क्षेत्र विस्तार अब अपरिहार्य भएको उनीहरुको भनाई थियो ।
मुख्य अतिथि नरेन्द्र कुमार साहले पछिल्ला वर्षहरूमा साझेदारी र सामुदायिक वन समितिहरूले अतिक्रमण नियन्त्रण र वृक्षारोपणका माध्यमबाट वन संरक्षणमा ल्याएको सुधार प्रशंसनीय रहेको बताए ।





