निजगढ । केहीदिनदेखि अत्यधिक बढेको गर्मीका कारण बाराका अधिकाश पालिकाहरुले गर्मी बिदा दिएका छन ।
बाराको निजगढ नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू तीन दिनका लागि बन्द गर्न सुचना पालिकाले निकालेको छ । नगरपालिकाको शिक्षा शाखाले मंगलबार एक सूचना जारी गर्दै यहि जेठ २७ गतेदेखि २९ गतेसम्म नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगन गर्ने निर्णय गरिएको जानकारी दिएको छ । सूचनामा विगत केही दिनदेखि बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउ“दै अस्थायी रूपमा बिदा दिइएको शिक्षा अधिकृत उत्तम लामिछानेद्वारा हस्ताक्षरित सूचनामा जनाईएको छ ।
त्यसैगरी अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर परेको जनाउदै कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ २८ गतेदेखि ३० गतेसम्म बन्द गर्न सुचना जारी गरेको हो । शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख राजिव कुमार यादवद्वारा जारी सूचनामा अत्यधिक गर्मीका कारण विद्यार्थीहरूमा समस्या देखिन थालेकाले विद्यालय बन्द गर्नु परेको जनाएका छन ।





