कोल्हवीमा प्रथम नगरस्तरीय लिग फुटबल प्रतियोगिता सुरु, नगर प्रमुख रामप्रसाद चौधरीले गरे उदघाटन

तराईसंचार
248 पाठक संख्या

जितेन्द्र प्रसाद चौधरी
कोल्हवी। बाराको कोल्हवी नगरपालिकामा प्रथम नगरस्तरीय लिग फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ। नगरभित्र रहेका खेलाडीहरूको प्रतिभा पहिचान गर्दै उनीहरूलाई खेलकुद क्षेत्रमा अगाडि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। नगर विकास खेलकुद समितिका संयोजक शिवकुमार चौधरीको सभापतित्वमा आयोजित प्रतियोगिताको उद्घाटन कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले रिबन काटेर गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले कोल्हवी नगरपालिकाभित्र रहेका खेलाडीहरूलाई प्रोत्साहन गर्दै उनीहरूको क्षमता र प्रतिभा विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

खेलकुदले युवाहरूमा अनुशासन, एकता, सहकार्य र सकारात्मक सोचको विकास गर्ने भएकाले यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो। नगर प्रमुख चौधरीले प्रतियोगिता सञ्चालन भइरहेको खेलमैदानको जग्गाका विषयमा पनि जानकारी गराउनुभयो। उहाँका अनुसार उक्त खेलमैदानसँग सम्बन्धित कित्ता नम्बर ३६ र १४१ को जग्गा केही भूमाफियाले आफ्नो नाममा दर्ता गराइसकेको भए पनि कोल्हवी नगरपालिकाले कानुनी लडाइँ लडेर मुद्दा जित्दै उक्त जग्गा फिर्ता ल्याउन सफल भएको जानकारी दिनुभयो। खेलकुदका लागि आवश्यक पूर्वाधार संरक्षण र विकास गर्नु नगरपालिकाको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरी, नेपाली कांग्रेस बाराका कोषाध्यक्ष बासु प्रसाद चौधरी वडा नम्बर ३ का वडाध्यक्ष किशुनदयाल चौधरी,४ बिष्णु प्रसाद मैनाली , नेपाली कांग्रेस कोल्हवी नगर सभापति वीरेन्द्रप्रसाद चौधरी, नेकपा एमाले कोल्हवी नगर कमिटी अध्यक्ष पुरनदेव चौधरी, नागरिक उन्मुक्ति पार्टी नेपालका केन्द्रीय सदस्य भुवन चौधरी, नेपाली कम्युनिस्ट पार्टी कोल्हवीका अध्यक्ष रामचन्द्र साफी तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकोल्हवी नगर समितिका उपसभापति जितनप्रसाद चौधरी श्री जनता मा बि ककडी प्रसौनाका प्रधानाध्यापक दिनानाथ महतो लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, खेलप्रेमी, स्थानीयवासी तथा खेलाडीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नगरस्तरमा लिग फुटबल प्रतियोगिता सुरु हुनु स्थानीय खेलकुद विकासका लागि सकारात्मक कदम भएको धारणा व्यक्त गरेका थिए। कार्यक्रममा खुसी चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन धीरेन्द्र पनुहरले गर्नुभएको थियो।

प्रथम नगरस्तरीय लिग फुटबल प्रतियोगिताले कोल्हवीका स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदप्रति युवाहरूको आकर्षण बढाउन र नगरको खेलकुद क्षेत्रलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।उदघाटन खेल ज्ञानु फाउन्डेसन कोल्हवी र बन्ठा युवा क्लब बन्ठा कट्टी को विरुद्ध खेल भएको थियो ।जसमा ज्ञानु फाउन्डेसनले १ को विरुद्ध ४ गोलले विजयी भएको हो। प्रतियोगिताको पहिलो हुने टिमले रु ४० हजार दोस्रो हुने टिमले रु २० हजार र तेस्रो हुने टिमले रु १० हजार प्राप्त गर्ने छ।प्रतियोगिता संचालन गर्न करिब ८ लाख ५० हजार अनुमानित बजेट रहेको छ ।

शेयर