समावेशी उपसभापतिमा फरमुल्लाह मंसुरदेखि पेशागत समूहमा शिव लम्सालसम्म, विभिन्न क्लस्टरमा बाराका उम्मेदवारको उपस्थिति
बारा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बाराले केन्द्रिय नेतृत्वमा आफ्नो उपस्थिति बलियो बनाउन खोजेको छ। महाधिवेशनअन्तर्गत समावेशी उपसभापतिसहित केन्द्रिय सदस्यका विभिन्न क्लस्टरमा बाराबाट १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
खुल्ला, मधेशी, मधेशी महिला, आदिवासी जनजाति महिला, मधेश प्रदेश महिला, मधेश प्रदेश खुल्ला, ३५ वर्षमुनिका युवा महिला, युवा खुल्ला तथा पेशागत समूहसम्म बाराका उम्मेदवारले आफ्नो दाबी प्रस्तुत गरेका छन्। एउटै जिल्लाबाट विभिन्न समूहमा यति ठूलो संख्यामा उम्मेदवारी परेपछि कांग्रेसभित्र बाराको महाधिवेशन प्रतिनिधित्वलाई चासोका साथ हेरिएको छ।
महाधिवेशनमा बाराबाट सबैभन्दा उच्च तहको प्रतिस्पर्धाका रूपमा समावेशी उपसभापति पदमा फरमुल्लाह मंसुरको उम्मेदवारी रहेको छ। एक पदका लागि हुने निर्वाचनमा मंसुर क्रमसंख्या २ मा छन्। उनीसँगै अर्बपति तथा उद्योगपति विनोद चौधरीसहित पाँच जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
मंसुरको उम्मेदवारीसँगै बाराले उपसभापति पदमै आफ्नो दाबी प्रस्तुत गरेको छ। केन्द्रिय राजनीतिमा लामो समयदेखि सक्रिय मंसुरका लागि यो निर्वाचन आफ्नो राजनीतिक प्रभावलाई थप बलियो बनाउने अवसरका रूपमा हेरिएको छ।
खुल्ला केन्द्रिय सदस्यमा पनि बाराको दुई दाबी
कांग्रेसको केन्द्रिय सदस्यतर्फ सबैभन्दा प्रतिस्पर्धात्मक मानिने खुल्ला समूहमा पनि बाराबाट दुई जना उम्मेदवार मैदानमा छन्।
शोभाकर पराजुली खुल्ला केन्द्रिय सदस्यतर्फ क्रमसंख्या ८२ मा छन् भने नवराज त्रिपाठी क्रमसंख्या ४७ मा रहेर प्रतिस्पर्धा गरिरहेका छन्।
खुल्ला केन्द्रिय सदस्यका लागि ४५ पदमा कुल ९२ जनाको उम्मेदवारी परेको छ। देशभरका प्रभावशाली कांग्रेस नेताबीच प्रतिस्पर्धा हुने यो समूहमा बाराका पराजुली र त्रिपाठीले पनि केन्द्रिय नेतृत्वका लागि आफ्नो दाबी अघि सारेका हुन्।
आदिवासी जनजाति महिला समूहमा शोभा लामा
आदिवासी जनजाति महिला केन्द्रिय सदस्यतर्फ ८ पदका लागि निर्वाचन हुँदैछ। यस समूहमा बाराकी शोभा लामाले उम्मेदवारी दिएकी छन्।
लामा क्रमसंख्या ३१ मा छिन्। उनीसँगै उक्त समूहमा अन्य ३६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
समावेशी प्रतिनिधित्वको महत्वपूर्ण आधार मानिने आदिवासी जनजाति महिला समूहमा बाराबाट लामाको उम्मेदवारी परेको हो।
मधेशी केन्द्रिय सदस्यमा दुई जना
मधेशी केन्द्रिय सदस्यतर्फ ५ पदका लागि बाराबाट दुई जनाले उम्मेदवारी दिएका छन्।
कृष्ण व्रत सिंह क्रमसंख्या ४ मा छन् भने रविन्द्र पनुहर क्रमसंख्या २० मा रहेका छन्। उनीहरूसहित यस समूहमा अन्य २८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
मधेशी क्लस्टरबाट दुई जना उम्मेदवार मैदानमा रहेकाले यस समूहको निर्वाचन परिणाम बाराको केन्द्रिय प्रतिनिधित्वका लागि महत्वपूर्ण हुने देखिएको छ।
मधेशी महिला समूहमा तारादेवी कानु
मधेशी महिला केन्द्रिय सदस्यतर्फ ५ पदका लागि बाराबाट तारादेवी कानुले उम्मेदवारी दिएकी छन्।
कानु क्रमसंख्या ७ मा रहेकी छन्। उक्त समूहमा उनीसँगै अन्य १४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
मधेशी महिलाको केन्द्रिय प्रतिनिधित्वका लागि हुने निर्वाचनमा कानुले बाराबाट आफ्नो दाबी प्रस्तुत गरेकी हुन्।
मधेश प्रदेश महिला केन्द्रिय सदस्यमा मेघा शाही
मधेश प्रदेश महिला केन्द्रिय सदस्यतर्फ १ पदका लागि बाराकी मेघा शाही चुनावी मैदानमा छिन्।
शाही क्रमसंख्या ३ मा रहेकी छन्। उक्त पदमा उनीसँगै अन्य ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
प्रदेशबाट केन्द्रिय नेतृत्वमा महिला प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले हुने यो निर्वाचनमा शाहीको उम्मेदवारी परेको हो।
मधेश प्रदेश खुल्लामा बुढाथोकी र थपलिया
मधेश प्रदेश खुल्लातर्फ ३ केन्द्रिय सदस्य पदका लागि बाराबाट दुई जनाले प्रतिस्पर्धा गरिरहेका छन्।
निजगढका शम्भु बुढाथोकी क्रमसंख्या ११ मा छन् भने हरि थपलिया क्रमसंख्या १३ मा रहेका छन्।
उनीहरूसँगै अन्य १३ जना उम्मेदवारले पनि यस समूहबाट प्रतिस्पर्धा गरिरहेका छन्। प्रदेशस्तरको खुल्ला समूहमा बाराबाट दुई जनाको उम्मेदवारीले जिल्लाको राजनीतिक उपस्थिति थप फराकिलो बनाएको छ।
युवा महिलातर्फ ममता शर्मा
कांग्रेसको मधेश प्रदेशअन्तर्गत ३५ वर्षमुनिका युवा महिलातर्फ १ केन्द्रिय सदस्य पदका लागि बाराबाट ममता शर्माले उम्मेदवारी दिएकी छन्।
शर्मा क्रमसंख्या २ मा रहेकी छन्। उक्त पदका लागि उनीसँगै अन्य ३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
युवा पुस्तालाई पार्टीको केन्द्रिय नेतृत्वमा पुर्याउने उद्देश्यले हुने निर्वाचनमा शर्माले बाराबाट प्रतिनिधित्व गर्दै आफ्नो दाबी प्रस्तुत गरेकी हुन्।
युवा खुल्लातर्फ राजीव चौधरी
त्यस्तै मधेश प्रदेश ३५ वर्षमुनिका युवा खुल्लातर्फ १ पदका लागि बाराबाट राजीव चौधरी प्रतिस्पर्धामा छन्।
चौधरी क्रमसंख्या ७ मा छन्। उक्त पदमा उनीसँगै अन्य १० जना उम्मेदवार मैदानमा छन्।
कांग्रेसमा नयाँ पुस्ताको नेतृत्व विकास र केन्द्रिय संरचनामा युवाको सहभागितालाई महत्व दिइरहेको अवस्थामा युवा समूहबाट चौधरीको उम्मेदवारी परेको हो।
पेशागत समूहमा प्रेस युनियनका अध्यक्ष शिव लम्साल
बाराबाट कांग्रेसको केन्द्रिय नेतृत्वका लागि उम्मेदवारी दिनेमा पेशागत क्षेत्रका प्रतिनिधि पनि छन्।
पेशागत समूहबाट ५ केन्द्रिय सदस्य पदका लागि नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले उम्मेदवारी दिएका छन्। लम्साल क्रमसंख्या ३० मा रहेर प्रतिस्पर्धा गरिरहेका छन्। पत्रकारिता तथा पेशागत क्षेत्रको प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्य पदका लागि लम्साल चुनावी मैदानमा उत्रिएका हुन्। त्यसैगरी केन्द्रिय सदस्य खस आर्यबाट महिला ८ केन्द्रिय सदस्यका लागि बाराकै नारायणी रायमाझी सि। नं। १० बाट प्रतिस्पर्धा गरी रहेकी छिन । उनीसगै अन्य ३० जना महिला प्रतिस्पर्धामा छन । योसगै बाराबाट महाधिबेशनमा प्रतिस्पर्धा गर्ने १४ जना पुगेका छन ।
एउटै महाधिवेशनमा १४ उम्मेदवार, बाराको नजर परिणाममा
यसरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बाराबाट समावेशी उपसभापतिदेखि विभिन्न समूहका केन्द्रिय सदस्यसम्म कुल १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। बाराबाट उम्मेदवारी दिनेमा फरमुल्लाह मंसुर, शोभाकर पराजुली, नवराज त्रिपाठी, शोभा लामा, कृष्ण व्रत सिंह, रविन्द्र पनुहर, तारादेवी कानु, मेघा शाही, शम्भु बुढाथोकी, हरि थपलिया, ममता शर्मा, राजीव चौधरी, नारायणी रायमाझी र शिव लम्साल रहेका छन्।
यसले नेपाली कांग्रेसको केन्द्रिय नेतृत्व चयनमा बाराको उपस्थिति फराकिलो बनाएको छ। जिल्लाबाट विभिन्न समुदाय, वर्ग, उमेर समूह र पेशागत क्षेत्रलाई समेटेर उम्मेदवारी परेकाले यसपटकको महाधिवेशनमा बाराको प्रतिनिधित्व बहुआयामिक देखिएको छ। विशेषगरी समावेशी उपसभापति, खुल्ला केन्द्रिय सदस्य, मधेशी तथा मधेशी महिला, आदिवासी जनजाति महिला, मधेश प्रदेश, युवा र पेशागत समूहमा बाराका उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्।
अब मुख्य चासो भनेको यी १४ उम्मेदवारमध्ये कति जना केन्द्रिय नेतृत्वमा पुग्न सफल हुन्छन् भन्नेमा छ। उम्मेदवारहरूको व्यक्तिगत प्रभाव, संगठनभित्रको पकड, महाधिवेशन प्रतिनिधिसँगको सम्बन्ध, समूहगत समीकरण र अन्तिम समयमा बन्ने राजनीतिक सहमतिले निर्वाचन परिणाममा प्रभाव पार्न सक्ने देखिन्छ।बाराका कांग्रेस नेता–कार्यकर्ताका लागि पनि महाधिवेशन आफ्नो जिल्लाको केन्द्रिय राजनीतिक हैसियत मापन गर्ने अवसर बनेको छ। एउटै महाधिवेशनमा उपसभापतिदेखि विभिन्न क्लस्टरका केन्द्रिय सदस्यसम्म उम्मेदवारी परेपछि जिल्लाभित्र समेत चुनावी सरगर्मी बढेको छ। अब महाधिवेशनको परिणामले बाराको कांग्रेस राजनीति केन्द्रमा कति बलियो भएर स्थापित हुन्छ भन्ने निर्धारण गर्नेछ। १४ उम्मेदवारमध्ये सफल हुनेहरूको संख्या र उनीहरूले पाउने मतले आगामी दिनमा बाराको कांग्रेसभित्रको शक्ति सन्तुलन र केन्द्रसँगको राजनीतिक पहुँचलाई समेत प्रभावित गर्ने देखिन्छ। सम्पुर्ण उम्मेदवारहरुको विवरण तलको लिङकमा छ
https://www.facebook.com/share/v/1d2j5KBBeF/











