बारा । मधेश प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले प्रहरीको संरचना र काम गर्ने शैली पुरै परिवर्तन गर्नु पर्ने बताउनु भएको छ ।
बाराको सिमरामा भएको जेनजी आन्दोलनको घटना बुझन सिमरा आउनु भएका थपलियाले प्रहरीको बिगतको काम गर्ने शैलीले प्रहरीको छवी उच्च बनाउन नसकिने बताउनु भएको हो । युवाहरु राजनितीमा आएको र फरक जोशलाई प्रहरीले शैली परिवर्तन विना नियन्त्रण गर्न असफल भएको बताउदै आफुलाई वास्तविक सूचना लुकाईएको कारण सिमरा घटना भएको बताउनु भएको छ ।
सिमराका व्यवसायी, शिक्षक, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुसँगको छलफलमा प्रहरी नायव महानिरीक्षक थपलियाले बाराका तत्कालिन प्रहरी उपरीक्षकले घटना सामान्य भएको भन्दै आफुलाई गलत रिपोटिङ्ग गरेको बताउनु भयो ।
अस्तीको घटना वास्तवमा कसरी भएको थियो र कारण के थियो र कुन तहको घटना हो भन्ने अहिले आएर मलाई छलङ्ग भयो’ प्रहरी नायव महानिरीक्षक थपलियाले भने ‘सत्य कुरा त्यही दिन थाहा पाएको भए घटना फरक स्थितीमा जान्थ्यो, त्यसमा प्रहरीको त्रुटी भएको मैले महसुुस गरे ।
प्रदेश प्रहरी प्रमुख थपलियाले आम नागरिकलाई पनि समयमै सही सूचना प्रवाह गर्न आग्रह गरेका छन् । उनले प्रहरीको व्यवसायिकतामा ह्रास आएको टिप्पणी गरेका छन् । जनपथ प्रहरी होस् वा ट्राफिक प्रहरी होस् हाम्रो व्यवसायीकतामा ह्रास आएको छ । हामीले सुधार गर्न पहल गरिरहे पनि सफल भईसकेका छैनौ’ मधेश प्रदेश प्रहरी प्रमुख थपलियाले भने ‘जेनजी आन्दोलनपछि अव प्रहरी सुध्रिनुको विकल्प छैन’
प्रहरीले बिगतको आफ्नो कार्यशैलीमा हेरफेर गरेर आफ्नो आचरण, काम गर्ने शैली र समाजले खोजेको अपेक्षा अनुसार काम गर्न नसके प्रहरी सफल नहुने थपलियाको भनाई छ ।
छलफलमा सिमरा र आसपास क्षेत्रका व्यवसायी, तथा शिक्षकहरुले जेनजी आन्दोलनपछि शान्ति सुरक्षाको वातावरण नभएको भन्दै गुनासो गरेका थिए । छलफलमा बारामा आईतवार मात्रै जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले प्रहरीले आफ्ना कार्यशैलीहरु सुधार गर्दै लैजाने बताएका छन् ।
छलफल कार्यक्रममा सहभागी शिक्षक, प्राध्यापक तथा व्यवसायीहरुले सुरक्षाको ग्यारेन्टी नहुदाँ ढुक्क भएर काम गर्ने अवस्था नभएको गुनासो गरेका थिए ।




