जितेन्द्र प्रसाद चौधरी
कोल्हवी । बाराको कोल्हवी नगरपालिका–७ धोधर्पामा धोधर्पा फाउन्डेसनको आयोजनामा दोस्रो वडा कप नकआउट फुटबल प्रतियोगिता २०८३ बिहीबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धोधर्पा फाउन्डेसनले महाकाल युवा क्लब बसबरियालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। धोधर्पा फाउन्डेसनका अध्यक्ष सबिर अन्सारीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहको प्रमुख अतिथि कोल्हवी नगरपालिका वडा नं। ७ का वडाध्यक्ष सलाउद्दिन अन्सारीले पानसमा दीप प्रज्वलन तथा रिबन काटेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कोल्हवी नगरपालिका वडा नं। १ का वडाध्यक्ष राजहरण चौधरी, नेपाली कांग्रेस इतर समूहका कोल्हवी नगर सभापति तथा नेपाल मत्स्य विकास संघ मधेस प्रदेशका अध्यक्ष वीरेन्द्रप्रसाद चौधरी, वडा सदस्यहरू धर्मेन्द्र चौधरी र शत्रुधन चौधरी, महिला वडा सदस्य सोनामति चौधरी, समाजसेवी चिन्तामणि चौधरी तथा सशस्त्र प्रहरी बल कोल्हवीका प्रमुख राम अयोध्या महतोको उपस्थिति रहेको थियो।
त्यसैगरी अतिथिहरू समाजसेवी जुम्राति अन्सारी, जलिल अन्सारी, जमालुद्दिन अन्सारी, मुस्ताफ अन्सारी, फुलमहमद अन्सारी, सैनुल्लाह अन्सारी, नरेश मिश्र, अमरुद्दिन अन्सारी, जचु चौधरी तथा धोधर्पा विद्यालयका पूर्व प्रधानाध्यापक बन्हु बन्ठालगायतको उपस्थिति रहेको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष सलाउद्दिन अन्सारीले सीमित बजेटका बाबजुद पनि वडा कप प्रतियोगितालाई निरन्तरता दिन वडा कार्यालयले बजेट विनियोजन गरेको बताउनुभयो। उहाँले आगामी दिनमा धोधर्पा फाउन्डेसनका गतिविधिलाई थप प्रभावकारी बनाउन बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, प्रतियोगिता सञ्चालन भइरहेको खेलमैदानको संरक्षणका लागि आवश्यक पहल गर्ने जानकारीसमेत दिनुभयो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वीरेन्द्रप्रसाद चौधरी, चिन्तामणि चौधरी, धर्मेन्द्र चौधरी, बन्हु बन्ठा, राजहरण चौधरी, अमिचम चौधरी र सरोज साहलगायतले प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, युवाको प्रतिभा पहिचान तथा आपसी सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा फाउन्डेसनका सचिव आसिफ अन्सारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन श्यामकुमार चौधरीले गर्नुभएको थियो।
प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न उद्घाटन खेलमा आयोजक धोधर्पा फाउन्डेसन र महाकाल युवा क्लब बसबरियाबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा आयोजक धोधर्पा फाउन्डेसनले महाकाल युवा क्लब बसबरियालाई १–० गोलले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
आयोजकका अनुसार प्रतियोगिताको पहिलो चरणअन्तर्गत शुक्रबार परिवर्तनशील युवा क्लब बलुवा र जनशक्ति क्लब कोल्हवीबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी दोस्रो खेलमा श्री राजदेवी युवा क्लब करैया र ओम शक्ति युवा क्लब बैरियाबीच प्रतिस्पर्धा हुने फाउन्डेसनका सचिव आसिफ अन्सारीले जानकारी दिनुभयो। प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीलाई नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। स्थानीय युवालाई खेलकुदप्रति आकर्षित गर्ने, फुटबल खेलको विकास गर्ने तथा नयाँ खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले धोधर्पा क्षेत्रको खेलकुद गतिविधिलाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।
धोधर्पामा दोस्रो वडा कप नकआउट फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक धोधर्पा फाउन्डेसन विजयी











