बारा । जीतपुर सिमरा उपमहानगरले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी यसवर्ष राष्ट्रिय बिभुती शिक्षा सदन डुमरवानाले प्राप्त गरेको छ । सो विद्यालय २३ स्वर्ण, ९ रजत र ४ कास्य पदक सहित प्रथम भएको हो । यससँगै सो विद्यालयले लगातार चौथोपटक प्रथम उपाधी जितेको बनेको हो । मंगलवारदेखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज समापन भएको हो ।
प्रतियोगितामा ७ स्वर्ण सहित १४ पदक जितेर नेरा नमुना मावि बकुलिया द्वितीय र ४ स्वर्ण सहित १३ पदक जितेर सेन्ट अल्फान्स विद्यालय तृतीय भएको छ । उपमहानगरका नगरप्रमुख राजन पौडेलले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः नगद रकम १५ हजार, १० हजार र ५ हजार सहित प्रमाणपत्र र शिल प्रदान गरेका थिए ।
प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, एथ्लेटिक्स लगायतका विभिन्न खेल विधा समावेश गरिएको थियो । ३८ वटा सामुदायिक तथा संस्थागत विद्यालय सहभागी रहेको प्रतियोगितामा १ हजार ३ सय विद्यार्थीहरु सहभागी भएको सचिवालय विद्यालय नेरामावि सिमराकी शिक्षिका सिता अधिकारीले जनाएकी छिन् । उनले विद्यार्थीहरूसँगै अभिभावक र शिक्षकहरुको समेत उत्साहजनक सहभागिता भएको बताईन् ।

उपमहानगरले विद्यालय स्तरमा रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी क्षमता विकास गर्ने उद्देश्यका बिगत ५ वर्षदेखि विद्यालयस्तरका विद्यार्थीहरुबिच खेलकुद प्रतियोगिता गर्दै आएको छ । यसवर्ष नेरा मावि सिमराले सो कार्यक्रम सञ्चालन गरेको थियो । नगरप्रमुख पौडेलले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अत्यन्त आवश्यक भएकाले अगामी वर्ष यस्लाई अझ सुधार गर्दै लैजाने बताएका छन् । ‘अगामी वर्ष अझ धेरै विद्यालय र विद्यार्थीको सहभागीता हुने गरी उपमहानगरले यो कार्यक्रम आयोजना गर्दछ, यस्मा लागि सम्पुर्ण विद्यालयलाई सहयोग गर्न अनुरोध गर्न चाहन्छु’ नगरप्रमुख पौडेलले भने ‘विद्यालयहरुमा खेलकुदको माहोल बनाउन हामीले गरेको प्रयास सफल भएको छ, सार्थकता पाएको छ’ उपमहानगरले अझ शसक्क्त रुपमा अगामी वर्ष छैटौ रनिङ शिल आयोजना गर्ने प्रतिवद्धता सञ्चालन गर्ने जनाएको छ ।

पौडेलले खेलकुदले अनुशासन, नेतृत्व क्षमता तथा प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय सरकारले निरन्तर लगानी र सहयोग गर्ने जनाए ।




