सिगौल बस्ती हटाउने प्रकरणमा सांसद गणेश धिमालको गम्भीर आरोप ‘२ देखि ६ लाख रुपैयाँ असुलियो’

तराईसंचार
389 पाठक संख्या
बारा  । बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य गणेश धिमालले डिभिजन वन कार्यालयले सिगौल क्षेत्रमा हटाएको बस्ती प्रकरण बारे प्रतिनिधिसभामा गम्भीर प्रश्न उठाउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद धिमालले अदालतबाट उन्मुक्ति पाएका पूर्व वडा अध्यक्षलाई गिरीबन्धु, बालुवाटार र पतञ्जली कम्पनीसँग जोडिएका भूमाफियाको संज्ञा दिँदै घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभएको हो ।
उहाँले सिगौल बस्ती व्यवस्थापनका क्रममा पूर्व वडा अध्यक्ष र सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षले स्थानीय बासिन्दासँग दुई लाखदेखि छ लाख रुपैयाँसम्म रकम उठाएको आरोप लगाउनुभयो। सांसद धिमालले पूर्व वडा अध्यक्ष केशब ढोडारी र सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष सिद्धबहादुर थापाको नाम नै लिएर रकम असुलेको आरोप लगाउनुभएको हो ।
सांसद धिमालले डिभिजन वन कार्यालयले बस्ती हटाएपछि प्रभावित परिवारहरू अहिले पनि खुला आकाशमुनि बस्न बाध्य रहेको उल्लेख गर्दै उनीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
शेयर