बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिर नजिक भारतीय ट्रेलर ट्रक अनियन्त्रित हुँदा पाँच वटा सवारी साधनमा क्षति पुगेको छ । दुर्घटनापछि हेटौँडा–पथलैया सडकखण्ड करिब चार घण्टा सडक अबरुद्ध भएपनि अहिले सञ्चालनमा आएको छ ।
हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको एचआर ६९ डी ७९६९ नम्बरको भारतीय ट्रेलरले ओभरटेक गर्ने क्रममा विपरीत लेनमा प्रवेश गर्दा सो दुर्घटना भएको हो । अनियन्त्रित भएको ट्रेलरले पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना. १ ज ६८८१ नम्बरको कार, लु. प्र. ०१–००१ च ०१२४ नम्बरको भ्यान, बा १७ च ७७८३ नम्बरको ओम्नी भ्यान, ना. ४ च ५३३४ नम्बरको योद्धा पिकअप र बा.प्र. ०३–००१ ज ३६२ नम्बरको ईभी गाडीमा क्षति पुगेको हो ।
दुर्घटनामा पाँचवटै सवारीसाधनमा क्षति पुगे पनि मानवीय क्षति भने हुनबाट जोगिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि भारतीय ट्रेलरका चालक घटनास्थलबाट फरार भएका छन ।
दुर्घटनापछि सडक केही समय एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो। दुर्घटनास्थलमा ट्रेलर थन्किएपछि राजमार्गमा सवारीसाधनको आवागमन प्रभावित भएको थियो । क्रेनको सहयोगमा दुर्घटनाग्रस्त भारतीय ट्रेलर हटाउनुका साथै अन्य साना सवारीसाधनसमेत घटनास्थलबाट हटाइएपछि सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ । फरार भारतीय गाडी चालकको खोजी तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।











