निजगढ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निजगढ नगर सभापति पदका लागि सूर्य घलानले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। घलानले आज निजगढस्थित होटल राजमार्गमा पत्रकार सम्मेलन आयोजना गर्दै नगर सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा उनले आफ्नो उम्मेदवारीसँगै पार्टीको स्थानीय संगठनलाई थप सुदृढ बनाउने तथा कार्यकर्तामाझ नयाँ ऊर्जा र सक्रियता बढाउने विषयमा आफ्नो धारणा राखेका छन्। घलान नेपालि कांग्रेस निजगढको वडा नम्वर १३ का दोस्रो कार्यकालको निर्वाचित वडा अध्यक्ष हुन।
निजगढमा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भएसँगै अब नगर सभापतिको नेतृत्व चयनतर्फ सबैको ध्यान केन्द्रित भएको छ। नगर सभापति पदका लागि घलानको उम्मेदवारी घोषणासँगै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा थप स्पष्ट बनेको छ। पत्रकार सम्मेलनमा घलानले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि पार्टी संगठनलाई गतिशील, कार्यकर्तामैत्री र प्रभावकारी बनाउने उद्देश्यसँग जोडिएको बताएका छन्। अब निजगढ कांग्रेसको नगर नेतृत्वका लागि हुने निर्वाचनमा विभिन्न उम्मेदवारबीचको प्रतिस्पर्धा र आन्तरिक समीकरणले कस्तो रूप लिन्छ भन्ने विषय चासोको विषय बनेको छ











