सिमरा महिला साकोसले जोड्यो २ हजारभन्दा बढी सदस्य, ५१ लाख ९७ हजार खुद मुनाफा आर्जन

तराईसंचार
37 पाठक संख्या

लक्ष्मी खरेल
सिमरा । महिलाहरूको सामूहिक प्रयास, बचत गर्ने बानी र आर्थिक आत्मनिर्भरताको साझा अभियानले १९ वर्षे यात्रा पार गरेको छ। सीमित स्रोत र साझा संकल्पबाट सुरु भएको सिमरा महिला सहकारीको यात्रामा आज २ हजारभन्दा बढी सदस्य जोडिएका छन् ।

महिलाहरूको एकता, निरन्तरता र आपसी सहकार्यले सहकारीलाई संस्थागत रुपमा मजबुती प्रदान गरेको छ । संस्थाको यही सफल यात्रा, प्रगति र भावी योजना बारे चर्चा गर्दै सहकारीको १९ औं साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा बोल्ने वक्ताहरूले २ हजारभन्दा बढी सदस्य बनाउन सफल हुनु संस्थाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनीहरूले सदस्यहरूको विश्वास, नियमित बचत र सामूहिक प्रयास नै संस्थाको प्रगतिको आधार भएको उल्लेख गरेका थिए ।

संस्थाकी अध्यक्ष मुना खरेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रमुख अतिथि ज्येष्ठ सदस्य माहिलि क्षेत्री रहनुभएको थियो। गत आर्थिक वर्षमा २० करोड ४३ लाख ६६ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको जनाएको छ।संस्थाको शेयर पुँजी १ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने बचततर्फ १५ करोड ६२ लाख ८ हजार ३ सय १० रुपैयाँ संकलन भएको छ। यस्तै, संस्थाले १४ करोड १४ लाख ४४ हजार रुपैयाँ ऋण लगानी गरेको र गत आर्थिक वर्षर्२०८२।०८३ मा ५१ लाख ९७ हजार ४ सय ६८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनमा उल्लेख छ। साधारण सभामा अध्यक्ष मुना खरेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।


साधारण सभाका अवसरमा उत्कृष्ट बचतकर्ता, बाल बचतकर्ता, ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट समूह तथा कर्मचारीलाई सम्मान गरिएको थियो। उत्कृष्ट बाल बचतकर्ताका रूपमा अनुभव पौडेल र कृपा लामिछाने, उत्कृष्ट बचतकर्ताका रूपमा उमा देवी लामा र मन्धी देवी लामा तथा ज्येष्ठ शेयर सदस्यका रूपमा माहिलि क्षेत्री सम्मानित हुनुभयो। असल ऋण कारोबारकर्ता उर्मिला चौधरी र जशोदा भट्ट अधिकारी त्यस्तै, उत्कृष्ट समूहका रूपमा सगुन बचत समूह, असल बचत समूह र उज्ज्वल बचत समूह छातापिप्रालाई सम्मान गरिएको थियो।

उत्कृष्ट कर्मचारी ओमकुमारी श्रेष्ठलाई नगद ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिएको संस्थाले जनाएको छ। उपाध्यक्ष भिमा देवी शर्माले स्वागत गर्नुभएको साधारण सभाको सञ्चालन संस्थाकी सचिव गीता कुमारी शर्माले गर्नुभएको थियो। कार्यक्रममा सल्लाहकार समिति संयोजक अनिता लम्साल, कोषाध्यक्ष सनम पौडेल, सहसचिव निलम चौधरी, लेखा समिति संयोजक उर्मिला कुमारी सापकोटा, सदस्य भगवतीया देवी, शान्ता कुमारी गौतम, किरण कुमारी झा, सहित शेयर सदस्यहरूको सहभागिता रहेको थियो।

शेयर