कलैया । बाराको प्रादेशिक अस्पताल कलैयामा थप एक जना पुरुषमा हैजाको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका उनी सिकिस्त बिरामी भएकोले आईसियुमा राखेर उपचार भईरहेको छ । शरिरको पानीको मात्र न्युन भएकोले सुकेको जस्तो देखिएका उनलाई तत्काल आईसियुमा राखेर उपचार भईरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ताले जानकारी दिएका छन् । पखाला लागेर अस्पतालमा उपचाररत कलैया उपमहानगरपालिका वडा नम्बर १९ का ४५ वर्षीय एक पुरुषमा आरडिटि पोजेटिभ आएको हो ।
यस अघि बुधबार मात्रै प्रादेशिक अस्पतालमा उपचाररत एक जना बिरामीमा हैजा संक्रमण पुष्टि भएको थियो । उनी कलैया उपमहानगरपालिका –१८ पतौराका हुन् । मेसु गुप्ताका अनुसार पहिले फेला परेका ती पुरुष बिहिबार बेलुका ६ बजे डिस्चार्ज भए पनि राति ८ बजे पछि अस्पतालबाट घर फर्किएका हुन् ।
स्वास्थ्यकर्मीहरूले हैजाबाट जोगिन खानपानमा ध्यान दिन, उमालेर मात्र पानी पिउन, सरसफाईमा विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । जिल्लामा हैजाको रोगी देखा पर्न थालेपछि बिहीबार प्रादेशिक अस्पतालका निमित्त प्रमुख डा.विप्लब सुबेदीको अध्यक्षतामा बसेको रेपिट रेस्पोन्स टिमको बैठकले आईसियुलाई हैजाको बिरामी मात्र राखेर उपचार गर्ने , सुबेदीकै अध्यक्षतामा सात सदस्यिय रेपिट रेस्पोन्स टिम गठन गर्ने निर्णय गरेको छ ।
बाराका स्थानीय निकायहरुले सुचना जारी गरी हैजाबाट सचेत हुन र हैजाको प्रकोप बारामा फैलन नदिन मासु पसल, अन्य पसलहरुमा सर्तकता अपनाउन र सरसफाई राख्न निर्देशन दिएका छन । हैजा तथा झाडापखालाको जोखिम बढेसँगै बाराको फेटा गाउँपालिकाले रोग नियन्त्रणका लागि जन चेतनामुलक अभियान थालेको छ । गाउँपालिकाले जनचेतनाख फैलाउन घर–घरमै पुगेर स्वास्थ्य सचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्ने अभियान थालेको गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीले बताउनु भएको छ ।
व्यक्तिगत स्तरमा सुरक्षित खानेपानी प्रयोग गर्न, खाना खानुअघि र दिसापछि साबुन पानीले हात धुन, राम्ररी पकाएको खाना मात्र खान, पानीको भाँडा वा ट्यांकी छोपेर राख्न तथा वरिपरि सफा राख्न आग्रह गरेका छन् ।
सुरक्षित खानेपानी आपूर्ति सुनिश्चित गर्न, सामुदायिक तहमा जनचेतना फैलाउने अभियान अघि सारेको छ । यसका लागि स्वास्थ्यकर्मीरूलाई बस्ती–बस्तीमा परिचालन गरिएको छ । स्वास्थ्यकर्मीरूले हैजासम्बन्धी जानकारी दिनुका साथै दूषित खाना–पानी नखान, फलफूल तथा तरकारी राम्ररी धुने सन्देश प्रवाह गरिरहेका छन् । गर्मी र वर्षायाममा हैजासहित झाडापखाला फैलिने सम्भावना उच्च हुने भएकाले गाउँपालिकाले युद्धस्तरमा सचेतना अभियान सुरू गरेको बताईएको छ ।





