बाराका १५ स्थानीय तहको बजेटको तयारी शून्य, जीतपुरसिमरा तात्यो समयमै 

तराईसंचार
43 पाठक संख्या
बारा । बाराको १६ स्थानीय तहहरुमध्ये एकमात्र स्थानीय तह जीतपुरसिमरा उपमहानगरले बजेटको पुर्व तयारी , श्रोत अनुमान र कुल बजेट सिमा निर्धारण सकेर बस्ती टोल स्तरबाट योजना छनौटमा जुटेको छ ।
जीतपुरसिमराले स्थानीय तहको योजना तर्जुमा नियमावलीमा भएको ब्यबस्था अनुरुप समयमै तयारीमा जुटेकाले बजेट समयमै आउने भएको छ । जीतपुरसिमराले गएको मंसिरदेखिनै बजेटको पुर्व तयारी गरी अहिले स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले समयमै काम सकेर बैशाख महिना भर वडा कार्यालयहरुबाट सिमा अनुसारको योजना छनौटमा लागेको हो । बजेटको पुर्व तयारी मंसिरदेखि शुरु हुने र माघ मसान्त भित्र सकिने ब्यबस्था नियमाबलीमा छ । त्यसैगरी स्रोत अनुमान तथा बजेट सिमा निर्धारण बैशाख १५ भित्र सक्नु पर्ने भएपनि बारामा जितपुरसिमराले मात्र नियमाबली अनुसार काम गरेको छ । बाकी १५ पालिकाले अहिलेसम्म स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको बैठक सम्म राखेका छैनन । यसले यसबर्ष पनि बारामा धेरै स्थानीइ तहले समयमै आगामी बर्षको बजेट ल्याउन समस्या हुने भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रत्येक बर्षको बैशाख १० गतेभित्र स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले आफनो पालिकामा प्राप्त हुने रकम, अनुदान क्रृण र अन्य आयको प्रक्षेपण र सोको सन्तुलित वितरणको खाका तथा बजेट सिमा निधारण गरी सक्नुपर्ने ब्यबस्था भएपनि बाराका एक पालिकाले मात्र सो बैठक गरेको छ । जीतपुरसिमरा उपमहानगरले बैठक आब्हान गरेर निर्णय गरेको नगरप्रमुख राजन पौडेलले जानकारी दिएका छन । त्यसो त जीतपुरसिमराले बैठकको बजेट निर्धारण अनुसार वडा र शाखा महाशाखाहरुलाई सिमा निर्धारण पठाएर योजना संकलनमा जुटेको छ ।
बाराका अधिकांश स्थानीय तहले हालसम्म बजेट निर्माण प्रक्रियाको सुरुवात समेत नगरेको पाइएको छ । सो बारे निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले नेपाल सरकारबाट प्राप्त हुने राजस्व वाडफाडबाट प्राप्त हुने आय र प्रदेश सरकारबाट प्राप्त हुने बित्तिय हस्तान्तरण समयमै नआएको कारण बैशाख १० मै बैठक गर्न नसकिएको बताउनु भएको छ । सरकारले कति रकम पठाउने भन्ने नपठाएको उहाँले बताउनु भएको छ । अन्य पालिकाका प्रमुखहरुले समेत सोही बताएका भएपनि बिज्ञहरुले प्रदेश र संघको बजेटको सिमा नआएपनि बैठक गर्न समस्या नहुने बताएका छन । केन्द्र र प्रदेशबाट समयमै नआएपनि अनुमानका आधारमा समयमै बजेट तयार गर्नुपर्ने विज्ञहरुले सुझाएका छन ।
  ऐनले स्पष्ट रूपमा समय सीमा तोकेको भए पनि जिल्लाका उपमहानगर, नगरपालिका तथा गाउँपालिकाहरूमा नीति तथा कार्यक्रम तर्जुमा, स्रोत अनुमान, तथा प्राथमिकता निर्धारणजस्ता प्रारम्भिक कार्यहरू कहिलेपनि समयमै नहुने र अन्तिममा असारमा मात्र गर्दा विवाद भई बजेट समयमै पास हुन सकेको छैन । समयमै बजेट प्रस्तुत र कार्यान्वयनमा चुनौती थपिने चिन्ता बढाएको बिज्ञहरुले बताएका छन ।
विशेषज्ञहरूका अनुसार समयमै बजेट नबन्दा विकास योजना प्रभावित हुने, सेवा प्रवाहमा अवरोध आउने र आर्थिक अनुशासनमा समस्या देखिन सक्ने जोखिम हुन्छ । उनीहरूले कानुनी प्रावधान अनुसार तत्काल बजेट प्रक्रिया अघि बढाउन स्थानीय तहलाई सुझाव दिएका छन ।
नागरिक तहबाट समेत यस विषयमा चासो बढ्दै गएको छ । समयसीमा नजिकिँदै गर्दा अबका केही दिनमा पालिकाहरूले कत्तिको सक्रियता देखाउँछन् भन्ने प्रश्न महत्वपूर्ण बनेको छ ।
निर्धारण भएको आयको प्रक्षेपण र वितरणको खाका र बजेट सिमामा आधारित स्थानीय तहले बार्षिक बजेट कार्यक्रमको प्राथमिकीकरण गरी कार्यपालिकामा पेश गर्नुपर्ने छ । के छ त बार्षिक बजेट तथा कार्यक्रम योजना तर्जुमाको ब्यबस्था स्थानीय सरकार सञ्चालन ऐन अनुसार नै अघि बढेको जीतपुरसिमरा उपमहानगरले पालिकामा रहेका २४ वडालाई योजना तर्जुमाका लागि पठाएको बजेटको सिमामा हरेक बर्ष विवाद हुदै आएको थियो । यसबर्ष सबैको सहमतिमा गरेको बजेटको सिमामा सबैभन्दा बढी वडा नं. २ ले एक करोड १३ लाख बजेट पाएको छ भने सबैभन्दा कम ५६ लाख वडा नं. ६ ले पाएको छ । जीतपुरसिमराले प्रति वडा न्यनतम बजेट ४१ लाख ६६ हजार रकममा जनसंख्याका आधारमा ३० प्रतिशत रकम र भुगोलका आधारमा २० प्रतिशत रकम र राजस्व संकलनका आधारमा ५० प्रतिशतको रकम थप्दा ५६ लाख देखि १ करो १३ लाखसम्म बजेट छुटाईएको हो । पालिकाले बजेट निर्माण गर्दा आर्थिक बिकास तर्फ कृषी, पशु, सिचाई, पर्यटन तथा संस्कृती उद्योग तथा ब्यापार श्रम तथा रोजगार र भुमी व्यबस्थापन तथा सहकारी गरी सात शिर्षकमा योजना संकलन गरेको छ भने सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, धर्म सस्कृती, प्रवद्र्धन, महिला,बालबालिका तथा सामाजिक संरक्षण र युवा तथा खेलकुद गरी ६ शिर्षकमा योजना माग गरेको छ ।
त्यस्तै पुर्वधार विकास तर्फ चार , वन वातावरण तथा विपद ब्यबस्थापन तर्फ पाँच र सुशासन तथा संस्थागत विकास तर्फ चार शिर्षकमा योजना संकलन गरेको छ ।
शेयर