निजगढमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई गम्भीर

तराईसंचार
85 पाठक संख्या
पठन समय 1 मिनेट

निजगढ । बाराको निजगढ नगरपालिका–११ तपस्या स्थलस्थित तामागढी–रतनपुर भित्री सडकखण्डमा सोमबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार साँझ करिब ५ः१५ बजे कोल गाउँबाट तामागढीतर्फ जाँदै गरेको ना.६२ प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले घाइतेहरूलाई उद्धार गरी सिटी अस्पताल निजगढ पुर्‍याएको थियो । सामान्य उपचारपछि तीनै जनालाई थप उपचारका लागि एलएस न्युरो अस्पताल, बारामा रिफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा निजगढ नगरपालिका–१२ कोल गाउँका २८ वर्षीय रमेश गोलेको उपचारका क्रममा साँझ ६ः४९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो । उक्त मोटरसाइकलका चालक २६ वर्षीय सुजन स्याङतान र अर्का सवार २२ वर्षीय रोजन गोले गम्भीर घाइते भएका छन् । दुवैको अनुहार र टाउकोमा चोट लागेको छ र उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *