निजगढमा बुद्ध जयन्ती भव्यताकासाथ सम्पन्न

तराईसंचार
11 पाठक संख्या
पठन समय 2 मिनेट
बारा । बाराको निजगढमा २५७० बुद्ध जयन्ती पनि भव्यता र श्रद्धाका साथ मनाइएको छ । बुद्ध जयन्ती आयोजक मुल समारोह समितिका अध्यक्ष पेमा घ्याम्चो लामाको अध्यक्षतामा निजगढ क्षेत्रमा सम्पन्न २५७० बुद्ध जयन्ती यस वर्ष पनि भव्यता र श्रद्धाका साथ मनाइएको छ ।
निजगढ वडा नं. १ देखि वडा नं. १३ सम्मका सर्वसाधारण, जिल्ला घेदुङ, नगर घेदुङ, तथा निजगढस्थित सम्पूर्ण गुम्बाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । धार्मिक एकता र सामाजिक सद्भावकोरुपमा सम्पन्न बुद्ध जयन्तीको अवसरमा निकालिएको भव्य र्यालीले निजगढका मुख्य बजार तथा विभिन्न स्थानहरूको परिक्रमा गर्दै शान्ति, अहिंसा र सहअस्तित्वको सन्देश फैलाएको थियो।
सहभागीहरू परम्परागत पोशाकमा सजिएका थिए भने हातमा बुद्धका उपदेश झल्किने ब्यानर, झण्डा र धार्मिक सामग्री बोकेका थिए । र्यालीमा बाजा गाजा, भजन–कीर्तन तथा सांस्कृतिक झाँकीहरूले वातावरणलाई अझ जीवन्त बनाएको थियो । कार्यक्रमका निजगढ–८ का पाल्देन लामाले विगत वर्षहरूको तुलनामा यस वर्षको बुद्ध जयन्ती कार्यक्रम अझ व्यवस्थित, भव्य र प्रभावकारी सम्पन्न भएको बताए ।
यस अवसरमा वक्ताहरूले भगवान बुद्धका शिक्षाहरूको महत्वबारे विशेष जोड दिएका थिए । उनीहरूले बुद्धले प्रतिपादन गर्नुभएको शान्ति, करुणा, मैत्री र अहिंसाको मार्ग आजको विश्वमा झन् आवश्यक रहेको बताए । हिंसा, द्वन्द्व र असहिष्णुताले ग्रस्त वर्तमान समाजमा बुद्धका विचारहरूले मानवतालाई सही दिशा देखाउने विश्वास व्यक्त गरिएको थियो । भगवान बुद्धले “अहिंसा परम धर्म” र “मनको शान्ति नै वास्तविक सुख” भन्ने सन्देश दिनुभएको प्रसङ्ग उठाउँदै सहभागीहरूले आन्तरिक शान्ति बिना बाह्य शान्ति सम्भव नहुने कुरामा जोड दिएका थिए ।
स्थानीय गुम्बाहरूको सक्रिय सहभागिता, विभिन्न संघ–संस्थाहरूको सहकार्य तथा समुदायको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई अत्यन्त सफल बनाएको आयोजकले जनाएको छ । यस वर्षको बुद्ध जयन्ती उत्सवले निजगढमा धार्मिक चेतना, सांस्कृतिक पहिचान र सामाजिक एकतालाई थप सुदृढ बनाएको अनुभूति सहभागीहरूले गरेका छन ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *