बारा, बारागढी गाउँपालिका — कृषक सशक्तिकरणतर्फ महत्वपूर्ण कदम चाल्दै बारागढी गाउँपालिकामा “स्थानीय योजना निर्माणका ७ चरण तथा योजना प्राथमिकिकरण” विषयक दुई दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाका वडा नं. २, ३ र ४ का करिब १०० जना कृषकहरूको सहभागिता रहेको उक्त तालिम “समृद्ध किसान र आत्मनिर्भर कृषि” भन्ने मूल नारासहित आयोजना गरिएको थियो।
तालिममा सहभागी कृषकहरूले आधुनिक कृषि प्रणाली, कृषिमा यान्त्रीकरण, सिँचाइ व्यवस्थापन, उत्पादनको प्रभावकारी बजारिकरण तथा अर्गानिक खेती प्रवर्द्धनका विषयमा गहन छलफल गरेका छन्। साथै, स्थानीय, प्रादेशिक र संघीय तहका सरकारसँग समन्वय गर्दै कृषकहितमैत्री योजना निर्माणमा जोड दिइएको थियो।
यो तालिम दलित जनजाति उत्थान केन्द्र, बाराको प्राविधिक सहजीकरण तथा चाइल्ड एड नेटवर्कको आर्थिक सहयोगमा सञ्चालन भइरहेको “आर्थिक अवसर अभिवृद्धि परियोजना” अन्तर्गत सम्पन्न भएको हो।
यसैबीच, तालिमपछि कृषकहरूले तयार पारेको योजनाअनुसार वडा नं. ४ अन्तर्गत सुनौलो स्वावलम्बन कृषक समूहले वैशाख ९ गतेदेखि ब्रह्मस्थान क्षेत्रमा दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म तरकारी बजार सञ्चालन सुरु गरेको छ। वडा अध्यक्ष पनालाल साहसँगको समन्वय र सहकार्यमा बजारलाई नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।
परियोजना प्रमुख डा. अजय कुमारका अनुसार स्थानीय स्तरमै उत्पादन बिक्री गर्ने वातावरण सिर्जना हुँदा कृषकहरूलाई उत्पादन बढाउन थप प्रेरणा मिल्नेछ। उनले अर्गानिक खेती र जलवायु अनुकूल कृषि प्रविधि अपनाउनु वर्तमान आवश्यकता भएकोमा जोड दिए।
यस पहलबाट कृषकहरूको आयआर्जनमा वृद्धि हुनुका साथै स्थानीय कृषि प्रणालीलाई दिगो, व्यवस्थित र आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ।




