काठमाडौं । नेपालको तेक्वान्दो प्रशिक्षण प्रणाली र प्रशिक्षकहरूको योगदानले अन्तर्राष्ट्रिय स्तरमा पुनः एक महत्वपूर्ण पहिचान बनाएको छ । बंगलादेशमा आगामी तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सहित गठन गरिएको बंगलादेश तेक्वान्दो महासंघको तदर्थ समितिको महासचिवमा नेपालमा तेक्वान्दो शिक्षा तथा प्रशिक्षण हासिल गरेका महमुदुल इस्लाम राना नियुक्त भएका छन ।

मेजर जनरल मोहम्मद आशरफुज्जमान सिद्यिकीको अध्यक्षतामा गठन भएको तदर्थ समितिले महासंघलाई पुनर्गठन गर्दै निर्धारित अवधिभित्र नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारी पाएको छ । यस समितिमा महासचिवको महत्वपूर्ण जिम्मेवारी रानाले पाउनु नेपाल र नेपाली तेक्वान्दोका लागि पनि गौरवको विषयका रूपमा हेरिएको छ ।
महमुदुल इस्लाम रानाले नेपालमै तेक्वान्दोका संस्थापक व्यक्तित्व तथा नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङबाट तेक्वान्दोको आधारभूतदेखि उन्नत प्रशिक्षण र शिक्षा हासिल गरेका थिए । त्यसपछि गुरुङको मार्गदर्शनमा उनी बंगलादेशमा तेक्वान्दो प्रशिक्षणमा फर्किएका हुन ।

नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा वरिष्ठ प्रशिक्षक टार्जन सुब्बाको प्रत्यक्ष नेतृत्व र प्रशिक्षण मार्फत बंगलादेशमा व्यवस्थित रूपमा तेक्वान्दो प्रशिक्षण सुरु भएको हो । यसले बंगलादेशमा आधुनिक तेक्वान्दो विकासको आधार तयार गरेको खेलकुद क्षेत्रका जानकारहरूको भनाइ छ ।
नेपाल र बंगलादेशबीचको तेक्वान्दो सम्बन्ध केवल खेल आदान–प्रदानमा सीमित नभई प्रशिक्षक, प्राविधिक ज्ञान र खेल संस्कृतिको हस्तान्तरणसम्म फैलिएको छ । नेपालमा प्रशिक्षण प्राप्त गरेका खेलाडी तथा प्रशिक्षकहरूले बंगलादेशमा तेक्वान्दो विस्तार, प्रशिक्षक उत्पादन तथा प्रतियोगितात्मक संरचना निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन ।

यसै योगदानको निरन्तरतास्वरूप नेपालमा प्रशिक्षित महमुदुल इस्लाम राना आज बंगलादेश तेक्वान्दो महासंघको सर्बोच्च कार्यकारी जिम्मेवारी मध्ये एक, महासचिव पदमा पुग्न सफल भएका छन ।
खेलकुद विश्लेषकहरूका अनुसार विदेशी खेल संघको नेतृत्वमा नेपालमा प्रशिक्षित व्यक्तित्व पुग्नु व्यक्तिगत उपलब्धि मात्र नभई नेपाली प्रशिक्षक, प्रशिक्षण प्रणाली र नेपाल तेक्वान्दो संघको अन्तर्राष्ट्रिय विश्वसनीयताको प्रमाण भएको बताएका छन ।
नेपाल तेक्वान्दो संघले विगतदेखि नै दक्षिण एसियाका विभिन्न देशका खेलाडीलाई प्रशिक्षणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुराउदै आएको छ । त्यसको सकारात्मक परिणाम अहिले बंगलादेशजस्तो मुलुकको राष्ट्रिय खेल संरचनामा समेत देखिएको छ ।
बंगलादेश तेक्वान्दो महासंघको तदर्थ समितिका अध्यक्ष मेजर जनरल मोहम्मद आशरफुज्जमान सिद्यिकी, महासचिव महमुदुल इस्लाम राना तथा सम्पूर्ण पदाधिकारीलाई नेपाल तेक्वान्दो संघले सफल कार्यकालका लागि शुभकामना समेत दिएको छ । आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गरी बंगलादेशमा तेक्वान्दो खेललाई अझ सशक्त र संस्थागत बनाउने विश्वास नेपाल तेक्वान्दो संघले गरेको छ ।
नेपालमा सिकेको सीप, नेपाली गुरुहरूको मार्गदर्शन र नेपाली प्रशिक्षकहरूको मेहनतले आज बंगलादेशको राष्ट्रिय तेक्वान्दो नेतृत्वसम्म आफ्नो प्रभाव स्थापित गरेको छ । यस उपलब्धिले नेपाल तेक्वान्दो संघ, प्रशिक्षकहरू तथा सम्पूर्ण नेपाली खेलकुद समुदायको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा अझ उचाइमा पुगेको तेक्वान्दोकर्मीहरुले गर्वको महशुस गरेका छन ।











