बारा । जितपुरसिमरा उपमहानगरपालिकाले आफ्नो इतिहासमै पहिलो पटक कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै दुई आर्थिक वर्षमा १५९ जना विद्यार्थीलाई रु ५८ लाख ८२ हजार ८५० वितरण गरेको छ।
गुणस्तरीय विज्ञान शिक्षामा पहुँच विस्तार गर्ने, आर्थिक अभावका कारण प्रतिभावान विद्यार्थीको पढाइ नरोकिने वातावरण सिर्जना गर्ने तथा सामुदायिक विद्यालयबाट पनि दक्ष वैज्ञानिक, चिकित्सक, इन्जिनियर र प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित उपमहानगरले पहिलोपटक यस्तो कार्यक्रम सुरु गरेको हो।
आर्थिक वर्ष २०८१/०८२ मा श्री नेपाल राष्ट्रिय विद्यालय, सिमराका ३४ जना विद्यार्थीलाई रु १३ लाख २२ हजार ६ सय र श्री राष्ट्रिय माध्यमिक विद्यालय, बकुलिया भवानीपुरका १५ जना विद्यार्थीलाई रु। ५ लाख ७८ हजार २५० गरी ४९ जना विद्यार्थीलाई रु.१९ लाख ८ सय ५० छात्रवृत्ति वितरण गरिएको थियो।
त्यसपछि आर्थिक वर्ष २०८२/०८३ मा कार्यक्रमलाई अझ व्यापक बनाउँदै श्री नेपाल राष्ट्रिय विद्यालय, सिमराका ८८ जना र श्री राष्ट्रिय माध्यमिक विद्यालय, बकुलिया भवानीपुरका २२ जना गरी ११० विद्यार्थीलाई रु. ३९ लाख ८२ हजार छात्रवृत्ति उपलब्ध गराइएको छ।
दुई वर्षको अवधिमा छात्रवृत्ति पाउने विद्यार्थीको संख्या ४९ बाट ११० पुगेको छ भने वितरण गरिएको रकम रु. १९ लाखबाट बढेर रु. ३९ लाख ८२ हजार पुगेको छ। यसले उपमहानगरले विज्ञान शिक्षालाई दिएको प्राथमिकता स्पष्ट रूपमा देखाएको छ।
उपमहानगरपालिकाले शिक्षामा गरिएको यो लगानीले आर्थिक अभावका कारण विज्ञान अध्ययनबाट पछि हट्नुपर्ने बाध्यता अन्त्य हुने, सामुदायिक विद्यालयप्रतिको विश्वास बढ्ने र स्थानीय तहबाटै दक्ष जनशक्ति उत्पादनमा नयाँ आधार तयार हुने विश्वास व्यक्त गरेको छ। विज्ञान शिक्षा केवल व्यक्तिगत भविष्य निर्माणको माध्यम मात्र नभई समृद्ध समाज निर्माणको आधार भएकाले यो पहललाई जितपुरसिमरा उपमहानगरको शिक्षा क्षेत्रमा ऐतिहासिक कदमका रूपमा हेरिएको छ।











