देवानगञ्ज घटनाः सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढ्ने

तराईसंचार
71 पाठक संख्या

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ६ बुँदे सहमति भएको छ।

 गएराति भएको सहमति अनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

 यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ। प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा छानबिन समितिको प्रतिवेदनमा समेटिएका सुझाव र सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गर्ने सहमति पनि भएको छ।

सहमतिअनुसार स्थानीय सरकारसँग समन्वय गरी दुवै मृतकको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिनेछ।

सम्झौतापत्रमा मृतकका अभिभावक तथा गृह मन्त्रालयका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्। सहमतिअनुसार मृतकहरूको अन्तिम संस्कार आज दिउँसो २ बजे गरिने जनाइएको छ।

शेयर