निजगढका बालबालिकाको सिकाइ सुधार्न रातो बंगला स्कुलसँग चार वर्षे सम्झौता

तराईसंचार
42 पाठक संख्या

निजगढ । निजगढ नगरपालिका र रातो बंगला स्कुल बीच प्रारम्भिक बालशिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले ‘सार्थक बाल सिकाइ कार्यक्रम’ सञ्चालनका लागि चार वर्षे सम्झौता भएको छ।

ललितपुरस्थित रातो बंगला स्कुल र निजगढ नगरपालिकाबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी र रातो बंगला स्कुलका तर्फबाट निर्देशक शान्ता दिक्षीतले हस्ताक्षर गरेका छन्।

कार्यक्रम विशेषगरी कक्षा १ भन्दा मुनिका बालबालिकाको प्रारम्भिक सिकाइ तथा शिक्षण पद्धतिमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिने जनाइएको छ। प्रारम्भिक तहका बालबालिकालाई प्रभावकारी, बालमैत्री र सिकाइकेन्द्रित वातावरण निर्माण गर्न कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिएको छ।

सम्झौता अनुसार कार्यक्रमअन्तर्गत आवश्यक पूर्वाधार विकास तथा लगानीको जिम्मेवारी निजगढ नगरपालिकाले लिनेछ भने शिक्षक तालिम, विद्यालय भ्रमण तथा प्राविधिक सहजीकरणको काम रातो बंगला स्कुलले गर्नेछ।

कार्यक्रमले निजगढका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय व्यवस्थापनलाई प्रारम्भिक बालशिक्षासम्बन्धी नयाँ सिकाइ विधि र अभ्याससँग जोड्ने अपेक्षा गरिएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, वडा अध्यक्ष ज्ञानबहादुर गोले, गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झा लगायत सत्तेश्वर, जनज्योति, डम्बरपुर र लालिगुराँस विद्यालयका प्रधानाध्यापकहरूको समेत सहभागिता रहेको थियो।

नगरपालिका र रातो बंगला स्कुलबीचको यो सहकार्यले निजगढका सामुदायिक विद्यालयमा प्रारम्भिक बालशिक्षाको गुणस्तर अभिवृद्धि गर्दै बालबालिकाको सिकाइको आधार बलियो बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

शेयर