बारा । रसुवा जिल्लामा आएको बाढी–पहिरो तथा सडक अवरुद्ध भएपछि कामका लागि रसुवा पुगेका बारा जिल्ला घर भएका कम्तीमा १५ जना व्यक्ति हालसम्म सम्पर्कमा नआएको विवरण सार्वजनिक भएको छ।
जिल्ला प्रशासन तथा विपद् व्यवस्थापनसम्बन्धी निकायले तयार पारेको विवरणअनुसार सम्पर्कविहीन हुनेहरूमा बारा जिल्लाका विभिन्न स्थानीय तहका व्यक्तिहरू रहेका छन्। उनीहरू रसुवा जिल्लामा ट्रक चालक, सहचालक, निर्माण तथा जलविद्युत् आयोजनामा काम गर्ने लगायतका पेशामा संलग्न रहेको उल्लेख छ। सूचीमा राम नारायण सिंह, सत्य प्रकाश राम, अंकित पटेल, जितेन्द्र कुमार दास, श्रीनिवास मण्डल, रञ्जित श्रेष्ठ, दिलु चौधरी, रमेश कुमार साह, रमेश कुमार यादव, राजु विश्वकर्मा, विक्रम परियार लगायतका व्यक्तिहरूको नाम समावेश छ। विवरणअनुसार सम्पर्कविहीनमध्ये केही व्यक्ति निजगढ, जितपुरसिमरा, कलैया, सुवर्ण, करैयामाई, परवानीपुर, आदर्श कोतवाल तथा प्रसौनी क्षेत्रका रहेका छन्। उनीहरू रसुवाको त्रिशूली हाइड्रोपावर, सडक तथा निर्माण आयोजना र ढुवानी क्षेत्रमा कार्यरत रहेको जनाइएको छ।
सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताइएको छ। परिवारजन भने आफ्ना सदस्यको अवस्था सार्वजनिक गर्न र खोजीकार्यलाई तीव्र बनाउन माग गरिरहेका छन्।











