बारा । जितपुरसिमरा उपमहानगरपालिका–१६ टाङियाबस्तीका ५५ वर्षीय गुरु फुयाल भन्ने देवी फुयाल जंगलमा पाडो खोज्न गएको अवस्थामा मृत फेला परेका छन । उनको शव जितपुरसिमरा उपमहानगरपालिका–१७ स्थित काटघाट भैरव मन्दिर नजिक फेला परेको हो ।
प्रहरीका अनुसार भदौ १२ गते फुयालको पाडो जंगलमा हराएको थियो । त्यसपछि भदौ १३ गते बिहान करिब ५ः३० बजे पाडो खोज्न जंगलतर्फ जान्छु भन्दै घरबाट निस्किएका फुयाल साँझसम्म पनि घर नफर्किएपछि परिवारले खोजी थालेको हो । उनका सालो कृष्णप्रसाद मैनालीले साँझ करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय निजगढमा जानकारी गराएपछि प्रहरी निरीक्षक दाताराम अधिकारीको कमाण्डमा १० जनाको प्रहरी टोली तत्काल खोजीमा खटिएको थियो । हिजोदेखि खोजी भईरहेका फुयालको चप्पल, साइकल र शव फरक–फरक स्थानमा फेला परेको स्थानीय कृष्ण बुढाथोकीले जानकारी दिनु भएको छ ।
घटनाको प्रकृति हेर्दा उनको मृत्यु शंकास्पद देखिएको र हत्या भएको हुनसक्ने आशंका गरिएको उनले बताएका छन । मृतकको शव घटनास्थलबाट आवश्यक मुचुल्का तथा प्रमाण संकलन गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । घटनास्थलमा कोल्हबी र निजगढको प्रहरी टोली खटिएको छ । मृत्युको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र कुवरले जानकारी दिनु भएको छ ।











