मोटरसाइकल दुर्घटनामा योगगुरु राजमणि खनालको निधन

तराईसंचार
714 पाठक संख्या

निजगढ । निजगढ नगरपालिका–६ निवासी पतञ्जली योगका गुरु तथा स्वतन्त्र कृषि सहकारी संस्थाका कर्मचारी एवं व्यवस्थापक राजमणि खनालको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ। दुई दिनअघि दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका खनाललाई उपचारका लागि वीरगन्जस्थित  न्युरो अस्पताल लगिएको थियो। दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका उनको टाउकोमा रगत जमेको थियो।

वीरगन्जमै शल्यक्रिया गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि उनलाई काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पताल ल्याइएको थियो। काठमाडौंमा उपचारकै क्रममा चिकित्सकले सोमबार खनाललाई मृत घोषणा गरेको परिवारले जनाएको छ। हाल उनको शव पोस्टमार्टमका लागि पठाइएको छ। पोस्टमार्टमपछि शव बुझेर अन्त्येष्टि गर्ने तयारी रहेको परिवारले जनाएको छ।

योग प्रशिक्षक तथा सहकारीकर्मीका रूपमा परिचित खनालको असामयिक निधनले परिवार, आफन्त, सहकर्मी तथा उनलाई चिन्नेहरू दुःखी भएका छन्। उनको निधनपछि निजगढ–६ सहित आसपासको क्षेत्र शोकमा परेको छ। खनालका एक छोरा एक छोरी छन ।

शेयर