काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १५ गते सूचना जारी गर्दै निर्वाचनसम्बन्धी विस्तृत कार्यतालिका सार्वजनिक गरेको हो। निर्वाचन कार्यतालिकाअनुसार असोज १९ गते साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ।
सोही दिन मतदाता नामावलीमाथि दाबी–विरोध र जाँचबुझको प्रक्रिया पूरा गरी साँझ ७ः३० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यस्तै, असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारीका लागि दरखास्त तथा मनोनयनपत्र दर्ता गरिनेछ। सोही दिन उम्मेदवारको पहिलो नामावली दिउँसो ४ः३० बजे, दाबी–विरोधपछि दोस्रो नामावली साँझ ७ बजे प्रकाशन गर्ने कार्यतालिका छ। उम्मेदवारले असोज २१ गते बिहान ९ बजेसम्म नाम फिर्ता लिन तथा उम्मेदवारी सच्याउन निवेदन दिन सक्नेछन्। त्यसपछि बिहान १० बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

उम्मेदवारलाई प्रचार–प्रसारका लागि असोज २१ गते दिनभर समय दिइएको छ। केन्द्रीय कार्यसमितिका लागि मतदान असोज २२ गते बिहान ९ः३० बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ। मतदानपछि मतगणना गरिने र मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ। मतदानका लागि काठमाडौंमा विभिन्न स्थान तोकिएको छ। राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा रहेको मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका मतदाताले मतदान गर्नेछन्। खुलामञ्चस्थित मतदान केन्द्र ‘ख’ मा कोशी, मधेश, कर्णालीरसुदूरपश्चिम प्रदेश तथा भातृ एवं शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितितर्फका मतदाताको व्यवस्था गरिएको छ।
त्यस्तै प्रज्ञा भवन, कमलादीस्थित मतदान केन्द्र ‘ग’ मा गण्डकी र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्ने कार्यतालिकामा उल्लेख छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै महाधिवेशन प्रतिनिधि, मतदाता, उम्मेदवार तथा सरोकारवालालाई निर्धारित कार्यतालिका पालना गर्न आग्रह गरेको छ।











