कोल्हवीमा थारू पत्रकार संघ बाराको सपथ ग्रहण तथा अग्रज पत्रकार सम्मान

तराईसंचार
194 पाठक संख्या

जितेन्द्र प्रसाद चौधरी

बारा  – थारू पत्रकार संघ नेपाल, बारा जिल्ला कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण तथा थारू पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका अग्रज पत्रकारहरूको सम्मान कार्यक्रम शनिबार बाराको कोल्हवीस्थित थारू सेवा सदनमा सम्पन्न भएको छ।

गत श्रावण ९ गते सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्षमा अनिल प्रित चौधरी, उपाध्यक्षमा जितेन्द्र प्रसाद चौधरी, सचिवमा बुधन चौधरी, सहसचिवमा बिनिता चौधरी, कोषाध्यक्षमा ईन्दिरा चौधरी तथा सदस्यहरूमा कञ्चन चौधरी र राजन चौधरी निर्वाचित भएका छन्। सपथ ग्रहणसँगै नवनिर्वाचित पदाधिकारीहरूले पत्रकारिताको आचारसंहिता र संगठनको विधानअनुसार थारू समुदायको आवाजलाई सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमकी प्रमुख अतिथि कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी चौधरीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार भएको बताइन्। उनले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताले सुशासन, पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै स्थानीय भाषा, संस्कृति, पहिचान र समुदायका मुद्दालाई प्राथमिकताका साथ उठाउन आग्रह गरिन्।

कार्यक्रममा कोल्हवी नगरपालिका वडा नं। ३ का अध्यक्ष किसुनदयाल चौधरी, वडा नं। १ का कार्यवाहक अध्यक्ष शिवचन्द्र चौधरी, थारू पत्रकार संघ नेपालका पूर्व केन्द्रीय कोषाध्यक्ष तथा फोनिज मधेश प्रदेश अध्यक्ष दुष्यन्त चौधरी, थारू पत्रकार संघका पूर्व केन्द्रीय सदस्य तथा फोनिज बारा अध्यक्ष धिरेन्द्र पनुहर, थारू पत्रकार संघ बारा जिल्लाका पूर्व अध्यक्ष जियालाल चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले पत्रकारिता समाज परिवर्तनको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै थारू समुदायका भाषा, संस्कृति, अधिकार र समसामयिक मुद्दालाई सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिए। उनीहरूले नयाँ नेतृत्वले संगठनलाई अझ सक्रिय बनाउँदै युवा पत्रकारहरूको क्षमता विकास, पेशागत उन्नयन र संगठन विस्तारमा ध्यान दिनुपर्ने सुझावसमेत दिए।

कार्यक्रममा पत्रकारितामा देखिएका चुनौती, डिजिटल सञ्चारको बढ्दो प्रभाव, गलत सूचना ९मिसइन्फर्मेसन० नियन्त्रण तथा पत्रकारिताको विश्वसनीयता जोगाउने विषयमा पनि छलफल भएको थियो।

सो अवसरमा थारू पत्रकारिता र संगठन निर्माणमा उल्लेखनीय योगदान पुर्‍याएका दुष्यन्त चौधरी, धिरेन्द्र पनुहर, जियालाल चौधरी तथा शेखर चौधरीलाई दोसल्ला, प्रशंसापत्रसहित सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूले यस सम्मानलाई थप जिम्मेवारीका रूपमा ग्रहण गर्दै आगामी दिनमा पनि पत्रकारिता र संगठनको विकासमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाए।

नवनिर्वाचित अध्यक्ष अनिल प्रित चौधरीले संगठनप्रति देखाइएको विश्वासका लागि सबै सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै पत्रकारहरूको पेशागत हकहित, क्षमता विकास र थारू समुदायका आवाजलाई प्रभावकारी रूपमा उठाउन आफ्नो कार्यसमिति प्रतिबद्ध रहने बताए।

कार्यक्रमको सञ्चालन सचिव बुधन चौधरीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष जितेन्द्र प्रसाद चौधरीले व्यक्त गरेका थिए। कार्यक्रममा सञ्चारकर्मी, जनप्रतिनिधि, सामाजिक अगुवा तथा थारू समुदायका बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

शेयर