बीपीदेखि गगनसम्म : पाँच दशक कांग्रेसको शक्ति–समीकरणमा मन्सुर, अब उपसभापतिको दौडमा

तराईसंचार
193 पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनको रस्साकस्सी चलिरहेका बेला अनुभवी नेता फरमुल्लाह मन्सुरले समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दिएका छन्। समावेशी उपसभापतिमा पाँच जनाबीच प्रतिस्पर्धा रहेको छ । १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा मन्सुर सहित अर्बपति विनोद कुमार चौधरी, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङको उम्मेदवारी परेको छ। अब मन्सुरका लागि चुनौती भनेको लामो राजनीतिक अनुभवलाई संगठनभित्रको वर्तमान शक्ति–समीकरणसँग जोड्दै महाधिवेशन प्रतिनिधिसामु आफ्नो राजनीतिक भूमिकाको आधार प्रस्तुत गर्नु हो। बीपीबाट सुरु भएको यात्रा गगनको नेतृत्वसम्म आइपुग्दा मन्सुरको उम्मेदवारीले कांग्रेसभित्र एउटा पुस्तान्तरणको तस्वीर पनि देखाएको छ पुरानो संघर्षको अनुभव बोकेको नेता नयाँ पुस्ताको नेतृत्वसँगै नयाँ जिम्मेवारीका लागि मैदानमा उत्रिएका छन्।

मन्सुरको उम्मेदवारीसँगै कांग्रेसभित्र पाँच दशकभन्दा लामो उनको राजनीतिक यात्राले पुनः चर्चा पाएको छ।

मन्सुर हाल कांग्रेसका सहमहामन्त्री हुन्। १४औँ महाधिवेशनमा उनी मुस्लिम कोटाबाट सहमहामन्त्री निर्वाचित भएका थिए। यसपटक भने उनले समावेशी उपसभापति पद रोजेका छन्। बीपी कोइरालाबाट राजनीतिक यात्रा सुरु गरेका मन्सुरको राजनीतिक परिचय कुनै एउटा गुट वा एउटा पुस्तासँग मात्र जोडिँदैन। लामो समय कांग्रेसभित्र विभिन्न शक्ति–केन्द्र र नेतृत्वसँग काम गर्दै आएका मन्सुरको राजनीतिक यात्रा बीपी कोइरालाको पुस्ताबाट सुरु भएर गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा हुँदै अहिलेको गगन थापा नेतृत्वसम्म आइपुगेको देखिन्छ। मन्सुरको सार्वजनिक राजनीतिक प्रोफाइलअनुसार उनले २0२८ सालमा बीपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएर सक्रिय राजनीति सुरु गरेका थिए। पञ्चायतकालीन राजनीतिक संघर्ष, संगठन निर्माण र जेल तथा प्रवासको अनुभवपछि उनी बारा कांग्रेसको संगठनमा स्थापित भए। उनको संगठनात्मक यात्रा २0३४ सालमा जिल्ला उपसचिवबाट अघि बढेको र २0४८ देखि २0५७ सम्म बारा जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका छन । त्यसपछि उनी राष्ट्रिय राजनीतिमा प्रवेश गरे।

निर्वाचनको मैदानदेखि केन्द्रीय नेतृत्वसम्म
मन्सुर २0५६ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भए। दोस्रो संविधानसभा निर्वाचन २0७0 मा पनि बारा–३ बाट निर्वाचित भएर संसद्मा पुगे। तर २0७४ को प्रतिनिधिसभा निर्वाचनमा भने उनले पराजय व्यहोरे। पछिल्लो २0८२ को निर्वाचनमा पनि बारा–३ बाट पराजित भएक छ। यसबीच कांग्रेसको केन्द्रीय राजनीतिमा उनको भूमिका निरन्तर रह्यो। मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारीमा पुगेका मन्सुर अहिले उपसभापति बन्ने प्रतिस्पर्धामा छन्।

गिरिजादेखि सुशील हुँदै देउवासम्म
मन्सुरको राजनीतिक यात्रा परिवर्तनशील शक्ति–समीकरणसँग जोडिँदै आएको छ। लामो समय कोइराला पक्षसँग राजनीतिक सहकार्य गरेका उनी सुशील कोइरालाको निधनपछि देउवा समूहसँग नजिकिएको राजनीतिक विवरणहरूमा उल्लेख छ। पछिल्लो समय भने उनी गगन थापा नेतृत्वसँग नजिकिएका छन्। यस अर्थमा मन्सुरलाई कांग्रेसभित्र एउटै शक्ति–केन्द्रमा सीमित नभई नेतृत्व परिवर्तनसँगै बदलिँदो राजनीतिक समीकरणमा आफ्नो स्थान बनाउँदै आएका नेताका रूपमा हेर्न सकिन्छ।

पुरानो पुस्ताको अनुभव र नयाँ नेतृत्वसँगको सहकार्य
१५औँ महाधिवेशनमा कांग्रेसले नयाँ नेतृत्वको चरणमा प्रवेश गर्दा मन्सुरको उम्मेदवारीले अर्को पक्ष पनि देखाएको छ—पुरानो पुस्ताको राजनीतिक अनुभव र नयाँ नेतृत्वबीचको सम्बन्ध। बीपीको राजनीतिक पुस्ताबाट सदस्यता लिएर कांग्रेसको संगठनमा सक्रिय भएका मन्सुरले गिरिजाप्रसाद र सुशील कोइरालाको नेतृत्वकाल देखे। शेरबहादुर देउवाको नेतृत्वमा पनि पार्टीको केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारीमा रहे। अहिले गगन थापा नेतृत्वमा पनि उनको राजनीतिक भूमिका निरन्तर छ। कांग्रेसको नेतृत्व इतिहास नै बीपी, गिरिजा, सुशील र देउवा हुँदै गगनसम्म आइपुगेको छ। त्यसैले मन्सुरको उम्मेदवारीलाई केवल एउटा पदका लागि परेको उम्मेदवारीका रूपमा मात्र होइन, कांग्रेसको पाँच दशक लामो राजनीतिक यात्राबाट आएको अनुभवलाई नयाँ नेतृत्वको चरणमा कसरी प्रयोग गर्ने भन्ने प्रश्नसँग जोडिएको उम्मेदवारीका रूपमा पनि हेर्न सकिन्छ। यीनै बिषयमा नेता मंसुरसग गरिएको कुराकानी

https://www.facebook.com/share/v/1C7xnpXeRu/

शेयर