दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालको यूएईविरुद्ध रोमाञ्चक जित

तराईसंचार
484 पाठक संख्या

काठमाडौं । आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएइलाई पराजित गरेको छ । खेलमा दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको हो । नेपाललाई १ रनको जित दिलाउन ऐरीले तीन महत्वपूर्ण विकेट लिए भने उत्कृष्ट फिल्डिङ गरे । एशोसियट राष्ट्रको एल क्लासिको मानिएको यो खेलमा नेपालले यूएईलाई १ रनले पराजित गरेको छ। ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो। नेपालले दिएको १४१ रनको विजयी लक्ष्य प्रस्तुत पछ्याएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो। अन्तिम ओभरमा यूएईलाई जितका लागि १० रन चाहिएको थियो ।

ओभरमा एउटा छक्का निकाल्न सफल भएता पनि यूएई लक्ष्यसम्म पुग्न सकेन । पहिलो बलमा एक रन दिएका दिपेन्द्रले दोस्रो बल डट राखे । तेस्रो बलमा छक्का प्रहार गर्दै युएई जितनजिक देखियो । अब युएईलाई जितका लागि ३ बलमा ३ रनमात्र आवश्यक थियो । चौथो, पाँचौ र छैटौं बलमा लगातार विकेट लिदै नेपालले एक रनको रोमाञ्चक जित निकालेको हो ।

चौंथो बलमा दीपेन्द्रले क्याचआउट गराए भने पाचौं र छैटौं बलमा ब्याटरहरु रनआउट भए ।

युएईका लागि अलिशान सराफुले अर्धशतक प्रहार गरेपनी जित निकाल्न सकेनन् । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए । ४७ बलमा ४ चौका र एक छक्का प्रहार गरे।

कुशल भुर्तेल २८, कप्तान रोहित पौडेल २०, कुशल मल्ल १०, दीपेन्द्रसिंह ऐरी १ र गुल्सन झा १४ रन बनाएर आउट भए । सन्दीप जोरा ४ र सोमपाल कामी ६ रनमा अविजित रहे । बलिङमा युएईका जुनैद सिद्दिकी, मोहम्मद रोहिद, जहिद अली, हर्षित कौशिक, हैदर अली र ध्रुव पराशरले एकएक विकेट लिए । यो जितसंगै नेपालले सुपर सिक्समा ४ अंक जोडेको छ ।

शेयर