चार जिल्लामा फैलिएको पर्सा निकुजले फाईदा लिन सकेन – पर्यटनमन्त्री पौडेल 

तराईसंचार
241 पाठक संख्या
बारा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल चार जिल्लामा फैलिएको पर्सा राष्ट्रिय निकुन्जको धेरै सम्भावना भएपनि फाईदा लिन नसकेको बताउनु भएको छ ।
उहाँले पर्साको वीरगञ्ज महानगरपालिका–३२ रामवनमा निर्माणाधीन चिडियाखाना व्यवस्थित गर्न आबश्यक पहल लिने प्रतिबद्धता समेत ब्यप्त गर्नु भएको छ ।
मधेश प्रदेशको चार दिने अबलोकनमा आउनु भएका मन्त्री पौडेलले आज पहिलो दिन पर्सा निकुजको अबलोकन पछि यस्तो बताउनु भएको हो ।
मन्त्री पौडेलले पर्सामा ५० हेक्टर क्षेत्रफलमा निर्माण गर्न लागिएको निर्माणाधिन चिडियाखान, निकुंजमा पर्यटन बृद्धी गर्न आबश्यक पुर्वाधार र बन्यजन्तुहरुका लागि पोखरी निर्माण र चितवन देखि पर्सा निकुंजसम्मको कनेक्टीभिटी लगायतको बिषयमा चासो राख्नु भएको थियो । पर्यटनमन्त्री पौडेलले  पर्सा निकुन्ज खुल्ला सङग्राहालय रहेको बताउदै पर्यटनको क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आब्हान गर्नु भएको छ ।
अबलोकनमा बारा क्षेत्र नं. १ का सासद गणेश धिमाल ३ का अरबिन्द साह, पर्साका सासद, जीतपुरसिमराका नगरप्रमुख राजन पौडेल, पर्सा राष्ट्रिय निकुंजका प्रमुख जगन्नाथ खतिवडा लगायत स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
पर्सा राष्ट्रिय निकुज हुदै निजगढ र ऐतिहासिक, पुरातात्विक तथा धार्मिक पर्यटकीय क्षेत्र सिम्रौनगढको अवलोकन गर्ने कार्यक्रम रहेको बारा क्षेत्र नं. १ का सभासद गणेश धिमालले जानकारी दिनु भएको छ ।
आज शुक्रबार र शनिबार बारा र पर्सा सकेर मधेशका अन्य जिल्लामा रहेका पर्यटकिय महत्वका स्थानको अबलोकन गर्ने कार्यक्रम रहेको छ ।
शनिबार बिहान राष्ट्रिय गौरवको आयोजनाका रूपमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम तय भएको सभासद् धिमालले जानकारी दिएका छन ।
सभासद् धिमालका अनुसार मन्त्रीको भ्रमणका क्रममा निजगढ विमानस्थलसँग सम्बन्धित सरोकारवाला, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीलाई समन्वय गरी सक्रिय सहभागिता जनाउन र विमानस्थल निर्माणसँग सम्बन्धित वस्तुगत जानकारी प्रस्तुत गर्न आग्रह गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा सुरु भएको चार दशक लामो समय बितिसकेको छ। विभिन्न अध्ययन, सम्भाव्यता प्रतिवेदन, वातावरणीय विषय तथा कानुनी विवादमा परी अहिले निर्माण मोडालिटी नभएर अन्यौलमा छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रस्तुत गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई अगाडि बढाउने र छ महिनाभित्र निर्माणको मोडालिटी तय गर्ने घोषणा गरेका थिए ।
यही अवस्थामा पर्यटनमन्त्री पौडेलको निजगढ विमानस्थल क्षेत्रको स्थलगत अवलोकनलाई महत्वका साथ हेरिएको छ । मन्त्रीको भ्रमणले लामो समयदेखि अल्झिएको विमानस्थल निर्माणको विषयमा सरकारको पछिल्लो धारणा र आगामी कार्ययोजना बारे स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ ।
मन्त्री पौडेलको भ्रमणको अर्को महत्वपूर्ण पक्ष सिम्रौनगढ अवलोकन पनि हो । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको सिम्रौनगढ र प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई जोडेर बाराको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सकिने स्थानीयको अपेक्षा छ ।
अब पर्यटनमन्त्रीको स्थलगत भ्रमणले केवल विमानस्थल क्षेत्रको अवलोकनमा सीमित नरही निजगढ विमानस्थल निर्माणको स्पष्ट मोडालिटी, समयसीमा र कार्यान्वयनको ठोस योजनातर्फ सरकारलाई अघि बढाउने वातावरण बनाउँछ कि बनाउँदैन भन्ने चासोका साथ हेरिएको छ ।
मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पौडेल शनिबारनै बाराको गढीमाई र पर्साका पर्यटकिय क्षेत्र पर्सा राष्ट्रिय निकुञ्ज लगायतको अबलोकन गर्ने र आईतबार सोमबार मधेशका सबै जिल्ला सकेर सप्तरीको छिन्नमस्ता हुदै फर्कने कार्यक्रम रहेको सासद धिमालले जानकारी दिनु भएको छ ।

 

शेयर