निजगढ । बाराको निजगढमा भएको प्रथम नगर स्तरीय अन्तर विद्यालय क्रीकेट प्रतियोगिताको ट्रफी निजगढ ८ को गौरीशंकर माविले जितेको छ । जितसंगै गौरीशंकरले ३० हजार पुरस्कार राशी हात पार्न सफल भएको छ । शनिबार भएको अन्तिम खेलमा गौरीशंकर मावि निजगढ ८ ले निजगढ ६ को गौरीशंकर मावि सडकटोललाई ५ विकेटले पराजित गर्दै जित हात पारेको हो ।
उपविजेता बनेको गौरीशंकर सडकटोलले २० हजार पुरस्कार पाएको छ । प्रतियोगिताको विजयी टोली र खेलाडीहरुलाई निजगढ नगरपालिकका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थि·, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र अर्याल, लेखा अधिकृत शिवप्रसाद देवकोटा, निजगढ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछाने लगायतले ट्रफी र पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २ जना खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा निजगढका संस्थापक नगर अध्यक्ष एवं जिल्ला सचिव रामहरि खरेलले ब्याट र क्रीकेट बल प्रदान गर्नुभएको थियो । त्यसैगरी स्थानीय व्यवसायी एंव सागर पुस्तक भण्डारका संचालक शंकर थोकरले नव उत्साही खेलाडीको हौसला बढउन क्रिकेट किट्सको व्याग वितरण गर्नुभएको थियो ।




