पत्रकारमाथि वकिलहरूको समूहले गरेको आक्रमणप्रति नेपाल पत्रकार महासंघको छानविन टोली गठन

तराईसंचार
300 पाठक संख्या

बारा। जनकपुरधाममा पत्रकारमाथि वकिलहरूको समूहले गरेको भौतिक आक्रमणप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यान दिँदै घटनाको सत्य–तथ्य छानविन र सुचना संकलनका लागि केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने संयोजक, केन्द्रीय सदस्य राजेशकुमार कर्ण र राजु विश्वकर्मा सदस्य रहेको विशेष छानबिन मिशन टोली गठन गरेको छ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार, मधेस प्रदेश समितिले कार्यालय भवन निर्माणका लागि कानुनी प्रक्रिया पूरा गरी प्राप्त गरेको धनुषास्थित जनकपुरधामको जग्गा संरक्षणका क्रममा यही साउन २७ गते विवाद उत्पन्न भएको थियो। यस क्रममा नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष विमल कुमार मिश्रको नेतृत्वमा आएको वकिलहरूको समूहले पत्रकारमाथि आक्रमण गरेको थियो।

महासंघले जारी गरेको विज्ञप्तिमा घटनालाई जग्गा कब्जा गर्ने प्रयाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै, हुलहुज्जत र आक्रमणका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी तीन सदस्यीय टोलीलाई दिइएको जनाएको छ। प्रतिवेदनको आधारमा महासंघले आवश्यक कानुनी र संगठनात्मक कदम चाल्ने चेतावनी पनि दिएको छ।

घटनामा परेर महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर राय, विनिता यादवलगायत घाइते भएका छन्।

शेयर