सांसद गणेश धिमालको अभिव्यक्तिविरुद्ध सामाजिक सञ्जालमा आलोचना, केशव ढोडारीले सार्वजनिक रूपमा मागे प्रमाण वा माफी

तराईसंचार
340 पाठक संख्या

निजगढ । बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य गणेश धिमालले प्रतिनिधिसभाको बैठकमा निजगढ नगरपालिका–२ सिंगौलका पूर्व वडा अध्यक्ष केशव ढोडारी र वनदेवी सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष सिद्धबहादुर थापाको नामै लिएर ‘भूमाफिया’ भनेपछि त्यसको विरोध सामाजिक सञ्जालमा चुलिएको छ। सांसद धिमालको अभिव्यक्तिप्रति नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ता तथा विभिन्न व्यक्तिहरूले तथ्य र प्रमाणबिना सम्मानित नागरिकमाथि लाञ्छना लगाएको आरोप लगाउँदै आपत्ति जनाएका छन्।

विरोध गर्नेमध्ये सबैभन्दा विस्तृत प्रतिक्रिया पूर्व वडा अध्यक्ष केशव ढोडारीले सार्वजनिक गर्नुभएको छ। फेसबुकमार्फत उहाँले सांसद धिमालको अभिव्यक्तिलाई ‘तथ्य र प्रमाणविहीन, चरित्रहत्या गर्ने र संसदको मर्यादा विपरीत’ भएको टिप्पणी गर्नुभएको छ।

ढोडारीले आफ्नो स्टाटसमा सिंगौल क्षेत्रमा रहेको विवादित जग्गाको इतिहास उल्लेख गर्दै माओवादी जनयुद्धकालदेखि हालसम्मको घटनाक्रम प्रस्तुत गर्नुभएको छ। उहाँका अनुसार उक्त जग्गामा आफूले कुनै व्यक्तिगत स्वार्थ नराखी विद्यालय, मन्दिर, गुम्बालगायत सार्वजनिक संस्थाको संरक्षणका लागि मात्र भूमिका खेलेको दाबी गर्नुभएको छ। सोही विषयमा विगतमा दायर भएको मुद्दामा अदालतबाट सफाइ पाइसकेको उल्लेख गर्दै, संसदमा पुनः आफूलाई ‘भूमाफिया’को आरोप लगाइनु न्यायोचित नभएको उहाँको भनाइ छ।

ढोडारीले सांसद धिमालसँग यदि आफूविरुद्ध कुनै प्रमाण भए सार्वजनिक गर्न, अन्यथा संसदमा व्यक्त अभिव्यक्तिका लागि सार्वजनिक रूपमा माफी माग्न आग्रह गर्नुभएको छ। उहाँले सांसदको अभिव्यक्तिले आफ्नो व्यक्तिगत, सामाजिक तथा राजनीतिक जीवनमा नकारात्मक असर परेको जिकिर गर्दै संसद जस्तो गरिमामय स्थानबाट बोलिने विषय तथ्यमा आधारित हुनुपर्ने धारणा राख्नुभएको छ।

यसैबीच, पूर्वमन्त्री, संविधानसभा सदस्य तथा नेकपा एमालेका नेता पुरुषोत्तम पौडेलले पनि सांसद धिमालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तथ्य नबुझी सम्मानित नागरिकमाथि ‘भूमाफिया’ जस्तो आरोप लगाउनु खेदजनक भएको बताउनुभएको छ। पौडेलले ढोडारी विगतदेखि स्थानीय विद्यालय, मन्दिर, गुम्बालगायत सार्वजनिक संस्थाको संरक्षणमा सक्रिय रहेको र अदालतबाट समेत सफाइ पाइसकेको प्रसंग उल्लेख गर्नुभएको छ।

वनदेवी सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष सिद्धबहादुर थापाले पनि आफूले सरकारी जग्गा हिनामिना वा किनबेच नगरेको स्पष्ट पार्दै, वन संरक्षणमा कमजोरी भएको भए त्यसको नैतिक जिम्मेवारी लिन तयार भए पनि भूमाफियाको आरोप अस्वीकार्य भएको धारणा सार्वजनिक गर्नुभएको छ।

त्यसैगरी जय कुँवरले संसदमा कुनै पनि व्यक्तिमाथि तथ्य र प्रमाणबिना आरोप लगाउनु उचित नभएको उल्लेख गर्दै, संसद अभिव्यक्तिको स्वतन्त्रता भए पनि त्यससँग जिम्मेवारी पनि जोडिएको टिप्पणी गर्नुभएको छ। उहाँले ‘सांसदको नैतिकताको प्रश्न’ उठाउँदै सत्यतथ्यका आधारमा मात्रै बोल्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

तिलक तामाङले पनि सामाजिक सञ्जालमार्फत संसद अनुमान र राजनीतिक आरोप लगाउने ठाउँ नभई प्रमाण र जिम्मेवारीका साथ धारणा राख्ने सर्वोच्च मञ्च भएको उल्लेख गर्नुभएको छ। उहाँले संरक्षणमा योगदान दिएका व्यक्तिहरूमाथि प्रमाणबिना आरोप लगाउनु न्यायोचित नहुने र सत्यलाई प्रमाण चाहिने, आरोपलाई होइन भन्ने टिप्पणी गर्नुभएको छ।

यस्तै गोकुल घोरसाइनेले पनि सांसद धिमालको अभिव्यक्तिको आलोचना गरिएको समाचार साझा गर्दै संक्षिप्त रूपमा ‘सर्वत्र आलोचना’ भन्ने प्रतिक्रिया जनाउनुभएको छ।

सांसद धिमालको संसदमा व्यक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा निरन्तर विरोधका अभिव्यक्तिहरू सार्वजनिक भइरहेका छन्। विरोध गर्नेहरूले संसदमा गरिने आरोप–प्रत्यारोप तथ्य र प्रमाणमा आधारित हुनुपर्ने तथा कुनै पनि व्यक्तिको सामाजिक प्रतिष्ठामाथि असर पर्ने अभिव्यक्ति दिँदा थप जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्। हालसम्म सांसद गणेश धिमालको तर्फबाट सामाजिक सञ्जालमा उठेका यी आपत्तिबारे थप सार्वजनिक प्रतिक्रिया आएको देखिएको छैन।

सिगौल बस्ती हटाउने प्रकरणमा सांसद गणेश धिमालको गम्भीर आरोप ‘२ देखि ६ लाख रुपैयाँ असुलियो’

शेयर