कलैया । बाराका १६ स्थानीय तहहरु मध्ये कलैया उपमहानगरपालिका प्रथम भएको छ । त्यसैगरी अन्तिम फेटा गाँउपलिका भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका गाउँपालिका नगरपालिका, उपमहानगर र महानगरको कार्य प्रक्रिया र उपलब्धिको मूल्याङ्कन गरेर नतिजा सार्वजनिक गरेको हो ।
गाउँपालिका, नगरपालिकाको शासकीय पद्धति र विकास व्यवस्थापनमा सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न मन्त्रालयले हरेक बर्ष यसरी मापन गर्दै आएको छ ।
स्थानीय सरकारबीच स्वस्थ्य प्रतिस्पर्धाको भावना जागृत गराउने उद्धेश्यले मन्त्रालयले गुणस्तर परीक्षण, शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय जस्ता ११ वटा सुचक मार्फत स्थानीय तहको मूल्याङ्कन हुँदै आएको छ
आव। २०८०÷०८१ को स्वमुल्याङ्कन परिणाम मन्त्रालयले गुणस्तर मापन गरी अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक बाराको नतिजामा सबै सुचकबाट कुल कलैयाले ७६ अंक ल्याएर प्रथम भएको हो । ६५ दशमलव २५ अङ्कसहित जितपुर सिमिरा दोस्रो, ६५ अङ्क सहित परवानीपुर तेस्रो भएका छन । ६४ दशमलव ७५ प्रतिशत सहित महागढीमाई चौथो, ६३ दशमलव ५० अंक सहित निजगढ पाँचौं, ६३ दशमलव २५ अङ्क सहित प्रसौनी छैठो , ६३ अङ्क ल्याएर करैयामाई सातौं भएका छन ।
त्यसैगरी ५९ अङ्क ल्याएर बारागढी आठौं, ५५ दशमलव ७५ अङ्क ल्याएर आदर्श कोतवाल नवौं, ५२ दशमल ५० अङ्क ल्याएर पचरौता नगरपालिका १०औ ५० दशमलब ७५ अंक ल्यार विश्रामपुर एघारौँ, ५० दशमलव ५० अङ्क ल्याएर देवताल बाह्रौं, ५० दशमलव २५ अङ्क ल्याएर कोल्हबी १३ औँ ४९ दशमलव ५० अङ्क ल्याएर सुवर्ण गाउँपालिका १४ औं, ४९ अङ्क ल्याएर सिम्रनगढ नगरपालिका १५ औ र अन्तिममा ३१ दशमलव २५ अङ्क ल्याएर फेटा गाउँपालिका १६ औ स्थान भएको हो ।
देशभरको ७५३ वटै स्थानीय तहको सर्वोत्कृष्ट पालिका सबै नतिजामा भने नीलकण्ठ नगरपालिका प्रथम भएको छ । यहाँ नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख छन । देशभरबाट दोश्रो खैरहनी नगरपालिका भएको छ । खैरहनीमा पनि नेपाली कांग्रेसबाटै निर्वाचित नगरप्रमुख छन । मन्त्रालयले शुक्रबार नतिजा सार्वजनिक गर्दै उत्कृष्ट पालिकालाई सम्मान समेत गरेको छ ।
शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले उत्कृष्ट नतिजा ल्याउने पालिकालाई सम्मान गरेकी हुन् । कार्यक्रममा नगरपालिकातर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने क्रमशः धादिङको नीलकण्ठ नगरपालिका, चितवनको खैरहनी नगरपालिका र रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई सम्मान गरिएको थियो ।
त्यसैगरी, गाउँपालिकातर्फ धादिङकै बेनीघाट रोराङ गाउँपालिका प्रथम, गुल्मीको रुरुक्षेत्र गाउँपालिका द्वितीय र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका तृतीय भएका छन् । यस वर्षको मूल्यांकनमा ९० भन्दा बढी अंक ल्याउने स्थानीय तहको संख्या ५ रहेको छ । समग्रमा उत्कृष्ट ५ भित्र पर्न सफल स्थानीय तहहरुको अंक नीलकण्ठ नगरपालिका, धादिङ – ९३।५० अंक, खैरहनी नगरपालिका, चितवन – ९२।७५ अंक, बेनीघाट रोराङ गाउँपालिका, धादिङ – ९१।७५ अंक, तिलोत्तमा नगरपालिका, रुपन्देही – ९१।२५ अंक, देवदह नगरपालिका, रुपन्देही – ९०।७५ अंक छ । ११ वटा उपमहानगरपालिकमध्ये रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ८८।५० अंकसहित शीर्ष स्थान ओगटेको छ भने अन्तिममा जनकपुर उपमहानगरपालिका रहेको छ । तराई सञ्चार रा. दैनिक




