निजगढ । समाजसेवी एवम निजगढ नगरपालिकाका संस्थापक नगरप्रमुख शुरेस कुमार खनालले आफनै वडा कार्यालय समस्यामा परेपछि फोटोकपी मेसिन प्रदान गर्नु भएको छ ।
गत महिना भदौ २४ गतेको आन्दोलन तथा प्रदर्शनका दौरान बारा जिल्लास्थित निजगढ नगरपालिका–९ वडा कार्यालयमा आगजनी हुँदा सबै कागजात, उपकरण र कार्यालय सामग्री जलेर नष्ट भएका थिए । सेवा प्रवाह ठप्पजस्तै भएको अवस्थामा निजगढ नगरपालिकाका प्रथम नगरप्रमुख सुरेश खनालले एक थान क्याननको फोटोकपी मेसिन प्रदान गर्दै कार्यालय पुनःसञ्चालनमा महत्वपूर्ण सहयोग गर्नु भएको हो ।
ध्वस्त उपकरणहरूको अभाव, कागजात प्रतिलिपिमा समस्या, र सामान्य प्रशासनिक कामकाजमै बाधा भएपछि कार्यालय केहि समयदेखि समस्यामा थियो । यस्तो संवेदनशील घडीमा खनालले उपलब्ध गराएको मेसिनले कार्यालयलाई फेरि नियमित सेवा प्रवाहतर्फ अघि बढ्न सहज बनाएको वडाअध्यक्ष रामचन्द्र कटुवालले बताउनु भएको छ ।
वडा नं. ९ का अध्यक्ष रामचन्द्र कटुवालले भने आगजनीपछि हाम्रो कार्यालय पूर्णरूपमा सेवा दिन नसक्ने अवस्थामा पुगेको थियो । अत्यावश्यक उपकरण नै नभएकोले दैनिक कामकाज अत्यन्त प्रभावित भएको थियो । पूर्व मेयरज्यूले उपलब्ध गराएको फोटोकपी मेसिनले अब पुनः सेवाहरू सुचारु गर्न ठूलो राहत पुगेको छ । स्थानीयवासीको सुविधामा प्रत्यक्ष प्रभाव पर्ने भएकाले हामी यसलाई अत्यन्त महत्वपूर्ण सहयोगका रूपमा लिएका छौँ ।”
पुर्व मेयर खनालले भने, “आगजनीले भएको क्षति केवल भौतिक मात्र थिएन, यसले प्रशासनिक सेवा नै अवरुद्ध बनाएको थियो । यस्तो कठिन समय समुदायबाटै सहयोग आउनु प्रशंसनीय कुरा भएको बताउनु भएको छ ।
पूर्व मेयर खनालको सहयोगप्रति कार्यालयका कर्मचारी र स्थानीयवासीले आभार व्यक्त गरेका छन् । उनीहरूले यसलाई “संकटमा साथ दिने नेतृत्वको व्यवहारिक उदाहरण” भन्दै सराहना गरेका छन् । निजगढ नगरपालिका–९ वडा कार्यालय आगजनीपछिको क्षतिलाई क्रमशः पुनर्निर्माण गर्दै सेवा प्रवाहलाई पूर्णरूपमा सुचारु गर्ने तयारीमा रहेको वडाअध्यक्ष कटुवालले बताउनु भएको छ ।





