पार्टीलाई जीवन्त बनाउन नेता तथा कार्यकर्तालाई गोलबन्द गर्छौँ कार्यवाहक सभापति मनोज भट्ट

तराईसंचार
1.1k पाठक संख्या

सिकेन्द्र पासवान
बारा । नेपाली कांग्रेस बारा जिल्लाका नवनियुक्त कार्यवाहक सभापति मनोज भट्टले पार्टीलाई पुनः ऊर्जावान् र जीवन्त बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।

पत्रकारसँग कुराकानी गर्दै कार्यवाहक सभापति भट्टले संगठन सुदृढीकरणका लागि आमसञ्चार माध्यम र पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै सञ्चार क्षेत्रसँगको सहकार्यमार्फत कांग्रेसका नेता तथा कार्यकर्तालाई एकीकृत र गतिशील बनाउने रणनीतिक योजना बनाएर अघि बढ्ने बताए।

उनले पार्टीका नीति, विचार र आगामी कार्यदिशालाई बाराका प्रत्येक गाउँ, टोल र वडा तहसम्म पुर्‍याउन आफू प्रतिबद्ध रहेको बताउँदै भने, ूपार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन तथा नेतृत्वका गतिविधिलाई आम कार्यकर्तासम्म पारदर्शी रूपमा पुर्‍याउन पार्टीका हरेक सुधारात्मक कदम, प्रशिक्षण र अभियानबारे नेता तथा कार्यकर्तालाई सुसूचित गर्नेछौँ। यसले कार्यकर्तामा नयाँ उत्साह थप्नेछ र उनीहरूलाई पार्टीको मूलधारमा सक्रिय रूपमा अघि बढ्न मद्दत पुग्नेछ।ू

कार्यवाहक सभापति भट्टले बारा कांग्रेसमा देखिएको अन्योलता र गुटबन्दी अन्त्य गर्दै संगठनलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। उनले छिट्टै पार्टीका सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, सदस्य, क्षेत्रीय सभापति, पूर्वसभापति तथा अग्रज नेताहरूसँग परामर्श गरी भावी योजना तयार पारिने बताए। सबैलाई नेपाली कांग्रेसप्रति अपनत्वको भावना हुने संगठन निर्माणमा कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो।

उनले पार्टीभित्र उत्पन्न असमझदारी र अनुशासनहीनताको अन्त्य गर्दै सबै तहका नेता तथा कार्यकर्तालाई न्यायोचित स्थान र जिम्मेवारी दिएर एकताबद्ध बनाउने लक्ष्य रहेको बताए। यसका लागि सबैको साथ, सहयोग र विश्वास आवश्यक रहेकोमा उनले जोड दिए।

कार्यवाहक सभापति भट्टले जिल्लादेखि क्षेत्र, नगर, गाउँ र वडा कार्यसमितिलाई तत्काल सक्रिय बनाइ तल्लो तहका कार्यकर्तासँग निरन्तर संवाद गर्ने बताए। साथै पार्टीको आदर्श, सिद्धान्त र नीति सम्बन्धी नियमित प्रशिक्षण सञ्चालन गरिने तथा पार्टीलाई चलायमान बनाउन ‘जेनेरेसन–जेड ९न्भल श्०’ युवा पुस्तालाई विशेष प्राथमिकताका साथ नेतृत्वमा अघि बढाइने लक्ष्य रहेको स्पष्ट पारे।

उनले बारा जिल्लाका आम नागरिकका समस्या, सुशासन तथा विकास निर्माणका मुद्दामा कांग्रेसले सशक्त ढंगले आवाज उठाउने र जनताको सुख–दुःखको सारथी बन्ने प्रतिबद्धता व्यक्त गरे। सुशासन, पारदर्शिता र विधिको शासन सुदृढ बनाउन आफ्नो पहल निरन्तर रहने उनको भनाइ थियो।

बाराका किसानका समस्या, विशेषगरी मलखाद, सिँचाइ, विकास निर्माणमा भइरहेको ढिलासुस्ती तथा स्थानीय जनसरोकारका विषयमा कांग्रेसले प्रभावकारी पहरेदारी गर्ने उनले बताए। कांग्रेसलाई जनताको सुख–दुःखमा साथ दिने जीवन्त राजनीतिक संगठनका रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको उनले उल्लेख गरे।

नेता तथा कार्यकर्तासँग निरन्तर संवाद र सहकार्यबाट बारा कांग्रेसमा नयाँ अध्यायको सुरुवात हुने विश्वास व्यक्त गर्दै उनले पार्टीलाई देशकै नमुना जिल्ला संगठनका रूपमा स्थापित गर्न दृढतापूर्वक काम गर्ने बताए।

कार्यवाहक सभापति भट्टले पार्टीभित्रको आन्तरिक कलह, गुटबन्दी र निराशाको अन्त्य गर्दै कांग्रेसलाई बारा जिल्लाको पहिलो र शक्तिशाली राजनीतिक शक्तिका रूपमा पुनर्जागृत गर्ने बताए। पार्टीलाई पुनः आम जनता र कार्यकर्ताको प्रिय तथा जीवन्त संगठन बनाउने आफ्नो मुख्य लक्ष्य रहेको उनको भनाइ थियो।

 पत्रकारहरूले औँल्याएका कमजोरीलाई आत्मसात् गर्दै नेता तथा कार्यकर्तालाई सचेत, जिम्मेवार र जनताको सेवामा समर्पित हुन प्रेरित गरिने उनले बताए। सहमति, सहकार्य र एकतालाई सधैँ शिरोधार्य गर्ने आफूले कसैप्रति काखापाखाको व्यवहार नगर्ने स्पष्ट पारे।

विगतका निर्वाचनमा देखिएका अन्तर्घात र आन्तरिक विवादलाई व्यवस्थापन गर्दै पार्टीलाई अनुशासित र एकताबद्ध बनाउनु पहिलो प्राथमिकता हुने उनले बताए। पार्टी हितविपरीत गतिविधिमा संलग्नलाई आवश्यक कारबाही गरिने तथा इमानदार कार्यकर्तालाई उचित मूल्याङ्कन र जिम्मेवारी दिइने उनको भनाइ थियो।

उ नले नेतामुखी होइन, कार्यकर्ता तथा जनतामुखी कांग्रेस निर्माणका लागि बाराका सबै स्थानीय तह, वडा र टोलमा सांगठनिक अभियान सञ्चालन गरिने जानकारी दिए। पार्टीको नयाँ सदस्यता वितरण तथा डिजिटल नवीकरण कार्यलाई तीव्रता दिँदै युवा पुस्तालाई कांग्रेसमा आकर्षित गर्ने रणनीति अनुरूप काम अघि बढाइने उनले बताए।

कार्यवाहक सभापति भट्टले बारा कांग्रेसका सम्पूर्ण नेता, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं कार्यकर्तालाई व्यक्तिगत स्वार्थ र गुटभन्दा माथि उठेर पार्टी निर्माणको महाअभियानमा जुट्न हार्दिक अपिलसमेत गरेका छन्।

उल्लेखनीय छ, निवर्तमान जिल्ला सभापति राजेशराय यादव अनुशासन सम्बन्धी कारबाहीमा निलम्बित भएपछि उपसभापतिका रूपमा रहेका मनोज भट्टले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका हुन्।

शेयर