आफ्ना मान्छे’ होइन, योग्य उम्मेदवार खोज्दै सांसद सिंह

तराईसंचार
82 पाठक संख्या

बारा । बारा निर्वाचन क्षेत्र नं= २ का संघीय सांसद चन्दन कुमार सिंहले आफ्नो संसदीय सचिवालय तथा व्यक्तिगत सम्पर्क कार्यालयका लागि स्वकीय सचिव पर्सनल सेक्रेटरी पदमा खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेका छन्।

सांसद सिंहले सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेका हुन्। सूचनाअनुसार तीन जना स्वकीय सचिव करार सेवामा नियुक्त गरिनेछ। आवेदनका लागि स्नातक तह उत्तीर्ण, कम्तीमा तीन वर्षको कार्यअनुभव, नेपाली र अंग्रेजी भाषामा राम्रो लेखन तथा बोल्ने क्षमता, कम्प्युटर सीप, सामाजिक सञ्जाल सञ्चालन, प्रतिवेदन लेखन, प्रेस विज्ञप्ति तयारी, जनसम्पर्क तथा गोपनीयता कायम राख्न सक्ने दक्षता माग गरिएको छ।

साथै बारा जिल्लाको स्थानीय भूगोल र राजनीतिक अवस्थाबारे राम्रो जानकारी भएकालाई प्राथमिकता दिइने उल्लेख छ। स्वकीय सचिवहरूले सांसदको दैनिक कार्यतालिका व्यवस्थापन, निर्वाचन क्षेत्रका गुनासा तथा सुझाव संकलन, कागजात व्यवस्थापन, सञ्चार समन्वयलगायतका जिम्मेवारी सम्हाल्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ वैशाख २८ तोकिएको छ।

नेपालको राजनीतिक अभ्यासमा स्वकीय सचिवलगायतका पदमा प्रायः प्रत्यक्ष नियुक्ति हुने गरेको चर्चा भइरहेका बेला सांसद सिंहले खुला प्रतिस्पर्धाबाट योग्य व्यक्तिलाई अवसर दिने प्रक्रिया सुरु गरेको भन्दै यस कदमलाई पारदर्शिता, योग्यता र सुशासनतर्फको सकारात्मक अभ्यासका रूपमा हेरिएको छ।

स्थानीय बुद्धिजीवी, युवा तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि सार्वजनिक सूचना जारी गरेर सबै योग्य नागरिकलाई समान अवसर दिने सांसद सिंहको निर्णयले सार्वजनिक पदमा योग्यता, पारदर्शिता र उत्तरदायित्वको संस्कृति विकास गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

शेयर