बालिका हराएको सूचना पाएको २४ घण्टासम्म पनि प्रहरीले कुनै खोजी कार्य नगरेको सासद अन्सारीको भनाई भिडियो सहित

तराईसंचार
156 पाठक संख्या
सिमरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणमा ईलाका प्रहरी कार्यालय सिमराको चरम लापरबाही देखिएको आरोप लगाएका छन ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अन्सारीले गैरजिम्मेवार प्रहरी अधिकृतहरूका कारण बालिकाको ज्यान गएको भन्दै आक्रोश व्यक्त गरे। बालिका हराएको सूचना पाएको २४ घण्टासम्म पनि प्रहरीले कुनै खोजी कार्य नगरेको उनको आरोप छ । दुई जना ‘नालायक प्रहरी अफिसरहरूका कारण तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ,’ संसद्मा बोल्दै सांसद अन्सारीले बताएका हुन । ‘बालिका हराएपछि प्रहरीलाई जानकारी गराएको २४ घण्टासम्म पनि कुनै प्रहरी परिचालन ईलाका प्रहरी कार्यालयले नगरेको उनको आरोप छ । जब छिमेकीले ७२ घण्टापछि शवको गन्ध आएको थाहा पाए, त्यसपछि मात्रै प्रहरी र तालिम प्राप्त कुकुर पुगेको उनले बताए ।
सांसद अन्सारीले इलाका प्रहरी कार्यालय सिमरा लापरबाही र लेनदेनको केन्द्रबिन्दु बनेको क्यासिनोमा नेपालीहरूको खुला प्रवेश गर्न दिएको लगायतका विषयमा आफूले संसद्मा आवाज उठाएको स्मरण गराउँदै त्यहाँका जिम्मेवार प्रहरी अधिकारीहरूमाथि कारबाही हुनुपर्ने माग गरे । घटनामा प्रहरीको भूमिकाबारे समयबद्ध अनुसन्धान हुनुपर्ने माग गर्दै उनले ‘एक्सन लग’ सार्वजनिक गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराए। ‘प्रहरी अधिकारीहरूलाई तानेर हुन्छ कि कारबाही गरेर हुन्छ, प्रहरीको ‘एक्सन लग’ सार्वजनिक गरिनुपर्छ। १ घण्टा, २ घण्टा, ६ घण्टा र १२ घण्टामा प्रहरीले के(के र्गयो ? त्यो थाहा हुनुपर्छ,’ उनले बताएका छन ।  अन्सारीले निर्दोष बालिकाको मृत्युप्रति दुःख व्यक्त गरे। उनले भने, ‘ती बालिकाको के गल्ती थियो ? न उनले सरकार चिन्छिन्, न पार्टी, न त प्रहरी नै। उनले त केवल आफ्नी आमा, आफ्नो आँगन र छिमेकी चिन्थिन्। आज ती बालिका कहिल्यै घर फर्किन नसक्ने गरी गइन्।’
देशभर बालिका तथा महिलामाथि बलात्कार र हत्याका घटनाहरू बढ्दै गएको भन्दै सांसद अन्सारीले शान्तिसुरक्षा र नागरिकको जिउधनको रक्षाका लागि गम्भीर बन्न गृह मन्त्रालयसँग जोडदार माग गरे।
सिमरा घटनामा बारा क्षेत्र नं. ३ का सासद अरबिन्द साहले पनि संसदमा आवाज उठाएका छन ।
भिडियो हेर्न लिङकमा जानुहोस
शेयर