सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तीन दिने लघु व्यवसाय खेल तालिम सम्पन्न

तराईसंचार
8 पाठक संख्या

तीन दिने लघु व्यवसाय खेल तालिम सम्पन्न

निजगढ । सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र German Sparkassenstiftung for International Cooperation को प्राविधिक सहयोगमा सञ्चालित तीन दिने लघु व्यवसाय खेल तालिम सम्पन्न भएको छ।  संस्थाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेटअन्तर्गत सदस्य सीप विकास तथा उद्यम विकास तालिम कार्यक्रममार्फत सञ्चालन गरिएको तालिम २०८३ भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको थियो।

तालिम उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष मणिश्वर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष निर्मल कुमार भण्डारी, सचिव मनोज कुमार रेग्मी, कोषाध्यक्ष सकुन्तला कुमारी लामा, शिक्षा उपसमिति सदस्य भीमप्रसाद सापकोटा, संस्थाका व्यवस्थापक विवेककुमार ठाकुर, कर्जा अधिकृत रोहितचन्द घिमिरे, लेखा अधिकृत सुभाष दाहाल, नेफ्स्कुनका वरिष्ठ अधिकृत भरतप्रसाद न्यौपाने तथा कार्यक्रम अधिकृत सन्दीप राज ढकाललगायतको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रमको सञ्चालन तथा सहजीकरण संस्थाका सञ्चालक एवं शिक्षा तथा तालिम उपसमितिका सदस्य भीमप्रसाद सापकोटाले गरेका थिए। कार्यक्रममा उपाध्यक्ष निर्मल कुमार भण्डारीले सहभागीहरूलाई स्वागत तथा शुभकामना व्यक्त गर्दै व्यवसायिक खेलमा आधारित तालिमको आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए। अध्यक्ष घिमिरेले तालिमले सदस्यहरूलाई व्यवसायमुखी, आत्मनिर्भर तथा व्यावसायिक निर्णय गर्न सक्षम बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा युवा, महिला तथा लघु व्यवसाय प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम समावेश गरिएको तथा युवालाई सहकारी क्षेत्रतर्फ आकर्षित गर्ने उद्देश्य रहेको बताए। साथै सदस्यहरूको सुरक्षाका लागि योगदानमा आधारित सदस्य सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन उपसमिति गठन गरी निरीक्षण तथा अनुगमनको काम भइरहेको जानकारी दिए।

नेफ्स्कुनका प्रतिनिधिले सेवा शुभारम्भ साकोससँग आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

तीन दिने तालिममा व्यवसाय सञ्चालन गरिरहेका तथा नयाँ व्यवसाय सुरु गर्न इच्छुक गरी विभिन्न क्षेत्रका २५ जना सदस्यको सहभागिता रहेको थियो। सहभागीमध्ये ३ जना पुरुष र २२ जना महिला रहेका थिए। सहभागीलाई पाँच/पाँच जनाको दरले पाँच समूहमा विभाजन गरी खेलको माध्यमबाट व्यवसाय सञ्चालनसम्बन्धी प्रशिक्षण दिइएको थियो।

प्रशिक्षणका क्रममा आमा जुस पसल, निजगढ जुस पसल, प्राप्ति जुस पसल, नारायणी जुस पसल र लक्ष्मी जुस पसल नामका काल्पनिक व्यवसाय सञ्चालन गराइएको थियो। एउटै पुँजी र स्रोतका बाबजुद विभिन्न जोखिम तथा व्यावसायिक परिस्थितिको सामना गर्दै खेलमार्फत व्यवसाय सञ्चालनसम्बन्धी निर्णय गर्न सहभागीलाई प्रशिक्षण दिइएको थियो।

प्रतिस्पर्धात्मक अभ्यासमा आमा जुस पसल प्रथम भएको थियो। उक्त समूहमा सकुन्तला कुमारी लामा, मुना बुढाथोकी, सीता देवी खड्का र जानकी भट्टराई सहभागी रहेका थिए। प्रथम हुने समूहलाई उपहारसमेत प्रदान गरिएको थियो। तालिममा नेफ्स्कुनका वरिष्ठ अधिकृत भरतप्रसाद न्यौपाने र कार्यक्रम अधिकृत सन्दीप राज ढकालले सहजीकरण तथा प्रशिक्षण प्रदान गरेका थिए। कार्यक्रमको व्यवस्थापन तथा सञ्चालन संस्थाको शिक्षा तथा तालिम उपसमिति र व्यवस्थापन पक्षले गरेको जनाएको छ। तालिमका सहभागीहरूले व्यवसाय सञ्चालन गरिरहेका तथा व्यवसाय सुरु गर्न चाहने सदस्यहरूका लागि तालिम अत्यन्त प्रभावकारी, व्यावहारिक र फलदायी भएको अनुभव सुनाएका थिए।

शेयर