निजगढ । निजगढ नगरपालिका–९ नं. वडा कार्यालयले वडाभित्र अस्थायी रूपमा बसोबास गर्दै आएका व्यक्ति तथा घरधनीलाई आफ्नो विवरण दर्ता गराउन आग्रह गरेको छ ।
वडा कार्यालयले सूचना जारी गर्दै व्यापार, व्यवसाय, अध्ययन, रोजगारी, सेवा, संघ संस्था, वित्तीय संस्था लगायत विभिन्न प्रयोजनका लागि वडाभित्र अस्थायी रूपमा बसोबास गर्दै आएका व्यक्तिहरूको विवरण संकलन गर्न लागेको जनाएको हो ।
विशेषगरी कोठा, घर, फ्ल्याट वा अन्य आवास भाडामा लिएर बसोबास गर्ने व्यक्तिहरू तथा उनीहरूलाई घर, कोठा वा फ्ल्याट भाडामा उपलब्ध गराउने घरधनीले आफ्नो तथा भाडामा बस्ने व्यक्तिको विवरण वडा कार्यालयमा दर्ता गराउनु पर्ने सूचनामा उल्लेख छ ।
वडा कार्यालयका अनुसार यस्तो विवरण अभिलेखीकरण भएपछि शान्ति–सुरक्षा, विपद् व्यवस्थापन, आपतकालीन उद्धार तथा आवश्यक सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्नेछ । घरधनीले भाडामा दिएको घर, कोठा वा फ्ल्याटमा बस्ने व्यक्तिको नाम, स्थायी ठेगाना, परिचयपत्रको विवरण, सम्पर्क नम्बर तथा बसोबासको प्रयोजन लगायतका विवरण वडा कार्यालयमा उपलब्ध गराउनुपर्नेछ ।
त्यसैगरी नयाँ व्यक्ति भाडामा आएमा वा भाडामा बस्ने व्यक्ति अन्यत्र गएमा सम्बन्धित घरधनीले यथाशीघ्र वडा कार्यालयलाई जानकारी गराई विवरण अद्यावधिक गर्नुपर्ने सूचनामा भनिएको छ । वडा कार्यालयले घरबहाल तथा जग्गा बहाल सम्झौतासँग सम्बन्धित पक्षहरूको उपस्थितिमा वडा अध्यक्ष तथा वडा सदस्यको रोहवरमा प्रचलित कानून बमोजिम गर्नु पर्ने समेत जनाएको छ ।
निजगढ नगरपालिका–९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल क्षेत्रीले वडाभित्र अस्थायी रूपमा बसोबास गर्ने सबै व्यक्ति तथा घरधनीलाई आवश्यक विवरण उपलब्ध गराई अभिलेखीकरण प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन ।











