प्रभु साहको निष्कर्ष ‘फेक शासन’को भण्डाफोर र नयाँ संविधानका लागि निर्णायक संघर्ष आवश्यक

तराईसंचार
118 पाठक संख्या

काठमाडौं । आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाल गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको बताएका छन्।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बसेको आजपाको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै साहले ‘फेक शासन’को भण्डाफोर, सिस्टम सुधार र नयाँ संविधान निर्माणका लागि निर्णायक संघर्ष आवश्यक रहेको बताएका हुन्। साहले पछिल्लो जेनजी आन्दोलनले अपेक्षित राजनीतिक निकास दिन नसकेको, सरकारप्रति जनताको असन्तोष बढ्दै गएको र राज्यका संयन्त्र प्रभावहीन बन्दै गएको दाबी गरेका छन्।

उनले लोकतान्त्रिक अधिकार कमजोर पारिएको, सुशासन नारामै सीमित भएको तथा अर्थतन्त्र संकटमा परेको आरोपसमेत लगाए। उनले नेपालको राजनीतिक परिवर्तनहरू पटक–पटक सम्झौतामा टुंगिँदा अपेक्षित परिवर्तन हुन नसकेको भन्दै अब अग्रगामी राजनीतिक शक्तिहरूबीच एकता र संघर्ष आवश्यक रहेको बताए। आजपाले विभिन्न राजनीतिक शक्तिहरूको सहभागितामा बनेको ‘अग्रगामी मोर्चा’लाई सत्ता प्राप्तिभन्दा पनि राजनीतिक संघर्षको माध्यमका रूपमा अघि बढाउने निष्कर्षसमेत निकालेको छ।

शेयर