काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ। संशोधित विधानसँगै कांग्रेसको पदाधिकारी संरचनामा व्यापक परिवर्तन भएको छ। पारित संशोधित विधानअनुसार अब कांग्रेसमा एक सभापति, एक वरिष्ठ उपसभापति, तीन उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष रहनेछन्। यससँगै पार्टीको पदाधिकारी संख्या २५ पुगेको छ।
नयाँ व्यवस्थाअनुसार वरिष्ठ उपसभापति पद पहिलोपटक सिर्जना गरिएको हो। उपसभापतिमा एक महिला र एक समावेशी समूहबाट प्रतिनिधित्व अनिवार्य हुने व्यवस्था गरिएको छ। त्यस्तै तीन महामन्त्रीमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ। सहमहामन्त्रीको संख्या पनि बढाइएको छ। अब कांग्रेसमा १५ जना सहमहामन्त्री रहनेछन्। त्यसमध्ये ११ जना निर्वाचित र चार जना मनोनीत हुने व्यवस्था गरिएको छ।
यसअघि कांग्रेसमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री ११ जना रहने व्यवस्था थियो। नयाँ विधानले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या बढाएको हो। विधान संशोधनसँगै कांग्रेसको केन्द्रीय कार्यसमितिको संरचनामा समेत परिवर्तन गरिएको छ। पारित प्रस्तावअनुसार केन्द्रीय कार्यसमिति २५) भन्दा बढी सदस्यीय हुने व्यवस्था गरिएको छ, जसमा ६१ जना सदस्य मनोनीत हुनेछन्।
पार्टीको संगठनलाई थप समावेशी बनाउने, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्व बढाउने र नेतृत्वका आकांक्षीलाई व्यवस्थापन गर्ने उद्देश्यले पदाधिकारी संख्या विस्तार गरिएको कांग्रेस नेताहरूले बताएका छन्। १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुअघि विधानमै महत्वपूर्ण परिवर्तन गरेपछि अब संशोधित संरचनाअनुसार सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा निर्वाचन प्रक्रिया अघि बढ्नेछ। यसपटकको विधान संशोधनले कांग्रेसको नेतृत्व संरचनालाई मात्र विस्तार गरेको छैन, महिला, समावेशी समूह र विभिन्न तहका नेतृत्वलाई पार्टीको शीर्ष संरचनामा थप स्थान दिने बाटो समेत खोलेको छ।











