निजगढ । १० बर्ष बैदेशिक रोजगारीबाट फर्किएका बाराको निजगढ नगरपालिका वडा नम्बर ९ का केरा किसान हिराबहादुर थापा मगरलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्षको उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरेको छ । मगर निजगढ केरा जोनका संयोजक समेत हुन ।

सरकारले सात प्रदेशका १४ किसानलाई ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गर्ने क्रममा मंगलवार मधेश प्रदेशका तर्फबाट निजगढ केरा एग्रिकल्चर फर्मका सञ्चालक समेत रहेका निजगढका किसान मगरलाई पनि सम्मान गरेको हो । मधेश प्रदेशबाट पुरस्कृत हुने अर्का किसान शम्भुनाथ माछा फर्मका भरतकुमार यादव रहेका छन ।

मगरले निजगढमा सोही फर्म मार्फत आधुनिक प्रविधिबाट १४ विगाहा केरा खेती गर्दै बर्षेनी ९० लाख भन्दा बढी आम्दानी गर्न सफल भएको बताएका छन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रपति भवन शितल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ७ प्रदेशकै सम्मानित हुनेहरुलाई सम्मान गरेका हुन । पुरस्कृत किसानलाई जनही २ लाख रुपैयाँ प्रदान गरिएको छ ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रम सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहन गर्नु पर्ने बताउनु भएको छ । कृषि मन्त्रालयले हरेक वर्ष सातवटै प्रदेशका २÷२ जना किसानलाई उत्कृष्ट कृषि पुरस्कार प्रदान गर्दै आएको छ ।

तराई सञ्चारसग कुरा गर्दै हिराले १० बर्ष मलेशियामा पसिना बगाए पनि खासै खासै आम्दानी कमाउन पनि नसकेको र दुःख समेत पाएपछि कृषी क्रृण लिएर केरा खेती तर्फ आकर्षित भएको उहाँले बताउनु भएको छ । पहिले २० हजार कमाउन बिदेशमा दुःख पाएपनि अहिले दर्जन बढीलाई रोजगारी दिदै आम्दानी धेरै राम्रो रहेको बताएका छन । काठमाण्डौ, पोखरा, भरतपुर लगायतका देशका अधिकाश सहरमा केरा बिक्री गर्दै आएका हिराले अनुसन्धान गर्न र सामाग्री आयातमा सरकारको ध्यान जान जरुरी रहेको उहाँले बताउनु भएको छ । यो सम्मानले निजगढ नगरपालिका तथा सम्पूर्ण मधेश प्रदेशमा कृषि क्षेत्रमा संलग्न कृषकहरूका लागि प्रेरणा बनेको उनले बताएका छन ।
यसअघि मधेस प्रदेश सरकारबाट समेत सम्मानित भईसकेका हिराले आफनो माटोबाटै प्रशस्तै आम्दानी निकाल्न सकिने भएपनि धेरै युवा बिदेश जानु नपर्ने बताएका छन । पुरस्कार पाउदा अत्यधिक खुशी लागेको बताउनु भएको छ ।




