सूर्य नेपाल मजदुर युनियनद्धारा रक्तदान कार्यक्रम, ५८ जनाले गरे रक्तदान

तराईसंचार
32 पाठक संख्या

सिमरा । नेपाल बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल मजदुर युनियन परिवारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। हालै त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा विपदमा परेका नागरिकलाई आवश्यक पर्ने रगतको अभाव हुन नदिन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा वीरगञ्ज रक्तसञ्चार केन्द्रका प्राविधिक टोलीले रक्त संकलन गरेको थियो।

रक्तदान कार्यक्रममा ४ जना महिलासहित ५८ जनाले रक्तदान गरेका छन्। सूर्य नेपालका प्रतिनिधि बेनी तिमल्सिनाका अनुसार, विपद्का बेला रगतको आवश्यकता बढ्ने भएकाले मानवीय सेवाको भावनासहित रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सूर्य नेपाल परिवारले रक्तदान, विपद् तथा प्राकृतिक प्रकोपमा राहत सहयोग, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग, वातावरण संरक्षण र समुदाय केन्द्रित विभिन्न सामाजिक गतिविधिमा निरन्तर योगदान गर्दै आएको तिमल्सिनाको भनाइ छ। उनले सूर्य नेपालले व्यवसायसँगै समाजप्रतिको आफ्नो दायित्वलाई पनि उत्तिकै महत्व दिँदै आएको बताउँदै आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने बताए।

त्रिशूली बाढीबाट प्रभावित परिवारलाई सहयोग पुग्ने उद्देश्यले गरिएको उक्त रक्तदान कार्यक्रमले विपद्को समयमा सामाजिक संस्था तथा निजी क्षेत्रको मानवीय सहयोग र सामाजिक जिम्मेवारीको महत्वलाई समेत उजागर गरेको छ।

शेयर