लक्ष्मी खरेल
बारा । जन जागरण युवा क्लब (जेजेवाइसी)ले बाराका ३ पालिकामा शिक्षा विशेष परियोजना सुरु गरेको छ । कोइका र सेभ द चिल्ड्रेनको सहयोगमा जिल्लाको देवताल गाउँपालिका, करैयामाई गाउँपालिका र महागढीमाई नगरपालिकामा इन्सपाएर नामक ५ वर्षे परियोजना सुरु गरेको हो ।
सन् २०२५ देखि २०२९ सम्मको ५ वर्षे अवधीको परियोजनाबारे सरोकारवालाहरुलाई जानकारी गराउँदै ३ वटै पालिकामा पालिका स्तरीय योजना सुरुवात बैठक सम्पन्न भएको छ । यहि १५ र १६ गते सम्पन्न बैठकमा परियोजनाका प्रमुख क्रियाकलापबारे जानकारी गराउँदै पालिका तथा अन्य सरोकारवालाहरुको भूमिका तथा जिम्मेवारी स्पष्ट पारिएको संस्थाका अध्यक्ष भैयाराम यादवले जानकारी दिए ।

सम्बन्धित पालिकाका सबै वडाका सामुदायिक विद्यालयहरू, १५ देखि २४ वर्षका विद्यालय छोडेका किशोर–किशोरीहरू, डिजिटल प्रविधि तथा जीविकोपार्जन परियोजनाका लक्षित क्षेत्र रहेका छन् । परियोजना मार्फत गुणस्तरीय आधारभूत शिक्षा, रोजगारीको तयारी, व्यक्तिगत क्षमता विकास तथा करियरका विकल्पहरू विस्तार गरि समुदायको दिगो विकासमा योगदान पु¥याउने लक्ष्य रहेको अध्यक्ष यादवले जानकारी दिए ।

बैठकमा पालिकाका अध्यक्ष, उपाध्यक्ष, नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, आयोजक संस्थाका पदाधिकारीहरू तथा सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक, बरिष्ट कार्यक्रम संयोजक तथा अनुगमन तथा मुल्यांकन संयोजक लगाएतको सहभागी रहेको थियो ।
बैठकको क्रममा पालिकाको समन्वयमा आगामी ५ वर्षसम्म परियोजना विधिवत सञ्चालन गर्न त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर समेत गरिएको छ ।





